एकीकृत घुम्ती शिविर मार्फत राक्सिराङमा घरघरमै सरकारको सेवा

पालिका डायरी
१७ चैत्र २०८२, १०:०१

मकवानपुरको राक्सिराङ गाउँपालिकाले स्थानीयको सहजताको लागि सबै सेवा एउटै ठाउँबाट प्रदान गरेको छ । सोमबार गाउँपालिकाको जनप्रतिनिधि, कर्मचारी देखि पञ्जिकरण विभागका अधिकारी देखि प्रमुख जिल्ला अधिकारी सहितको उपस्थितीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेर सेवा प्रदान गरेको हुन् ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका शाखा अधिकृत देवचन्द्र गर्तौला सहितको टोलीले राक्सिराङ–९ खैराङको घुम्ती शिविरमै राष्ट्रिय परिचय पत्र प्रिन्ट गरेर वितरण गरिदिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी सहितको टोलीले विभिन्न कारण नागरिकताबाट वञ्चित भएका स्थानीयलाई घरमै पुगेर नागरिकता वितरण गरिदए । गाउँमै आएका टोलीले हातमा नागरिकता र राष्ट्रिय परिचय पत्र थमाइदिए पछि स्थानीयहरु दंग देखिएका थिए ।

त्यसोत, घुम्ती शिविरमा स्वास्थ्य जाँच, सुत्केरी आमाहरुको लागि कुखुरा वितरण गरिएको थियो भने कृषि शाखाबाट वितरण हुने अनुदानमा आधारित कृषि औजार, बल बिउविजन वितरण गरिएको थियो । पशु शाखाबाट पशुपन्छीका लागि भिटामिन र जुकाको औषधि वितरण गरिएको थियो ।

गाउँपालिकाले हरेक वर्ष जेष्ठ नागरिकको सम्मान स्वरुप घरघरमा पुगेर जेष्ठ नागरिकलाई तागतयुक्त खानेकुरा वितरण तथा स्वास्थ्य जाँचको समेत सेवा प्रदान गर्दै आएको छ । सोही कार्यक्रमलाई निरन्तरता सहित गाउँपालिका अध्यक्ष राजकुमार मल्ल सहितको टोलीले घरघरमा पुगेर जेष्ठ नागरिकका लागि फलफूल, छाता, झुल प्रदान गरेका हुन् । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारा सहित सबै सेवा एकै ठाउँमा उपलब्ध गराइएको अध्यक्ष मल्लले बताए ।

उक्त कार्यक्रम मार्फत ३० जनालाई नागरिकता, १ हजार जनालाई राष्ट्रिय परिचय पत्र, कृषक समूहको लागि हाते ट्याक्टर, ग्रिन टडेलको प्लाष्टिक, पम्प लगायतको सामाग्री विरतण गरिएको हो ।

प्रतिक्रिया