दामन–सिमभञ्ज्याङमा ढकमक्क लालीगुराँस (तस्बिरहरू)
वसन्त ऋतु सुरु भएसँगै मकवानपुरको थाहा नगरपालिकामा पर्ने दामन-सिमभञ्ज्याङ क्षेत्र यतिबेला लागिगुराँसले ढाकिएको छसेता, राता र गुलाबी रंगका लागिगुराँसले सजिँदा दामन–सिमभञ्ज्याङ क्षेत्र यतिबेला मनमोहक बनेको छ ।
विशेषगरी फागुनदेखि बैशाखसम्म फुल्ने लागिगुराँस यतिबेला पूर्ण रूपमा फक्रिएको देखिन्छ । लागिगुराँस केवल सौन्दर्यका लागि मात्र नभई सांस्कृतिक र प्राकृतिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ। नेपालको राष्ट्रिय फूलका रूपमा परिचित रातो लाली गुराँस देशको पहिचान, गौरव र राष्ट्रिय एकताको प्रतीक मानिन्छ । यहाँ सेतो लालिगुराँस पनि पाइन्छ। यो दुर्लभ प्रकारको लाली गुराँस हो ।
यहाँ प्रेम, आकर्षण र कोमल भावनाको प्रतीक मानिने गुलाबी रंगको लालिगुराँस पनि देख्न सकिन्छ । जसले प्राकृतिक सौन्दर्यमा थप रंगीन बनाएको छ। रातो रंगको लालिगुराँस जताततै पाइए पनि सेतो र गुलाबी गुराँस भने कतैकतै मात्र देख्न सकिन्छ। जसकारण यसको संरक्षणको लागि स्थानीय तहले पनि पहल अघि बढाएका छन् ।
वनस्पतिशास्त्रीय दृष्टिले पनि लागिगुराँसले पहाडी पारिस्थितिक प्रणाली सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्ने वनस्पतिविद् बताउँछन् । यसले जैविक विविधता संरक्षणमा योगदान पुर्याउनुका साथै स्थानीय वातावरणलाई हरियाली र जीवन्त बनाइराख्छ । दामन–सिमभञ्ज्याङ क्षेत्र हिमाली दृश्यका लागि पनि प्रसिद्ध मानिन्छ ।
यहाँबाट अन्नपूर्ण, मनास्लु र गणेश हिमालसहित विभिन्न हिमश्रृंखलाको दृश्य अवलोकन गर्न सकिन्छ । लागिगुराँसले ढाकिएको हरियाली जंगल र चिसो हावासँगै हिमालको दृश्यले यस क्षेत्रको सौन्दर्य झन् बढाएको छ । हेटौँडा र काठमाडौँबाट छोटो दूरीमै पुग्न सकिने दामन-सिमभञ्ज्याङ लोकप्रिय गन्तव्यकाे रुपमा चिनिन्छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण र रंगीन लागिगुराँसको संयोजनले यो क्षेत्रलाई अझ आकर्षक बनाएको छ ।












