उपत्यकाबाहिर पनि बागमतीका ८ जिल्लामा रास्वपाको ‘क्लिन स्वीप’
काठमाडौँ उपत्यकामा सबै क्षेत्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाहिर पनि बागमती प्रदेशका १० जिल्लाका १८ वटा निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै सिट जितेको छ । १८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये रास्वपाले १६ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको हो ।
बागमती प्रदेशमा सबैभन्दा अन्तिममा मतगणना सकिएको नुवाकोट-१ मा पनि रास्वपा नै विजयी भएको छ । रास्वपाका उम्मेदवार विक्रम तिमिल्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन् । उपत्यका बाहिरका १८ वटै निर्वाचन क्षेत्रमा नेकपा (एमाले) ले जीत निकाल्न सकेन । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने एक-एक निर्वाचन क्षेत्रमा खाता खोल्न सफल भएको छन् ।
यसअघि कांग्रेसको गढ बनेको रसुवामा मोहन आचार्यले विरासत कायम राख्न सक्दा उपत्यका बाहिर बागमतीका १८ मध्ये एक सिट जितेको हो । आचार्य १० हजार ६५६ मत प्राप्त गरेर विजयी भएका हुन् । यता, सिन्धुपाल्चोक-२ मा नेकपाका उम्मेदवार युवराज दुलाल विजयी भएका हुन् । उनले २१ हजार ६९९ मत प्राप्त गरे । दुलालले कांग्रेसका उम्मेदवार वंशलाल तामाङलाई पराजित गरेका हुन् । यी क्षेत्र बाहेक सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् ।
रास्वपाले १६ निर्वाचन क्षेत्रमा जीत निकालेको छ । दोलखामा ३२ हजार ३७६ मत सहित जगदीश खरेल विजयी भएका हुन् भने रामेछापमा २४ हजार ८०८ मत कृष्णहरी बुढाथोकी विजयी भएका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा रास्वपाकै क्लिन स्वीप भएको छ । सिन्धुली-१ मा धनेन्द्र कार्कीले १६ हजार ६५९ मत ल्याएर विजयी हुँदा सिन्धुली-२ मा आशिष गजुरेलले १७ हजार ९४० मत प्राप्त गरेर विजयी भएका हुन् ।
यस्तै, धादिङमा पनि रास्वपाकै क्लिन स्वीप भएको छ । धादिङ-१ मा आशिका तामाङले ३९ हजार १२८ मत प्राप्त गरेर विजयी भइन् भने धादिङ-२ मा बोधनारायण श्रेष्ठले २६ हजार २४५ मत प्राप्त गरेर विजयी भए । नुवाकोट-२ मा अच्युतम लामिछाने ३२ हजार ५४ मत सहित विजयी हुँदा काभ्रेको दुवै क्षेत्रमा रास्वपाले विजय हासिल गर्यो । काभ्रे-१ मा मधुकुमार चौलागाई २९ हजार ६१८ मत सहित विजयी हुँदा काभ्रे-२ मा बदनकुमार भण्डारी ५३ हजार ३५४ मत सहित विजयी भए ।
सिन्धुपाल्चोक-१ मा भरतप्रसाद पराजुलीले २४ हजार ४१२ मत ल्याएर विजयी हुँदा चितवनका तीनै क्षेत्रमा रास्वपाको क्लिन स्वीप भएको छ । चितवन-१ मा सोबिता गौतम ५९ हजार २७७ मत ल्याएर विजयी हुँदा चितवन-२ मा रास्वपा सभापति रवि लामिछानले ५४ हजार ४०२ मत प्राप्त गरेर विजयी भए । चितवन-३ मा हरि ढकालले ५८ हजार २०८ मत प्राप्त गरेर विजयी भएका हुन् ।
दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा पनि रास्वपाले क्लिन स्वीप गरेको छ । मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतमले ३३ हजार ३६ मत प्राप्त गरेर विजयी हुँदा मकवानपुर-२ मा प्रशान्त उप्रेतीले ३० हजार ५० मत प्राप्त गरेर विजयी भएका हुन् ।


