मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ५ र ६ मा नेकपा (एमाले) का अगुवा कार्यकर्ताहरूको चुनावी भेला सम्पन्न भएको छ। भेलाले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई निर्णायक जित दिलाउने स्पष्ट राजनीतिक सन्देश दिँदै बकैयामा एमालेको पकड अझ मजबुत बनाउने निर्णय गरेको छ।
भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) मकवानपुर–१ का उम्मेदवार रामेश्वर रानाले बकैयाका जनताको समस्या भाषण र कागजमा सीमित नराखी सिधै संसदसम्म पुर्याएर समाधान गरिने दृढ प्रतिबद्धता व्यक्त गरे। उनले जनतासँग जोडिएको, विकासलाई पहिलो प्राथमिकता दिने र स्पष्ट राजनीतिक भिजन बोकेको नेतृत्व आफू भएको दाबी गरे। सहभागीहरूले रामेश्वर रानालाई इमानदार, सादगीपूर्ण र परिणाममुखी उम्मेदवार भएको स्पष्ट पारे।
कार्यक्रममा बोल्दै पूर्व सांसद कृष्णप्रसाद दाहालले मकवानपुरमा भएका ठूला परिवर्तन शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र राजनीतिक स्थायित्व एमालेकै नेतृत्वमा भएको स्पष्ट पारे। उनले बकैयाका जनताको समस्या समाधान एमालेकै कारण अघि बढेको उल्लेख गर्दै बाँकी विकासका काम अझै बाँकी रहेको र ती काम पूरा गर्न एमालेको नेतृत्व आवश्यक भएको बताए। त्यसैले फेरि एकपटक सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले) का उम्मेदवार रामेश्वर रानालाई जिताउन आग्रह गरे। दाहालले अहिले एमालेविरुद्ध फैलाइएका भ्रम र निराधार प्रचारलाई चिर्दै जनताको बीचमा एमालेको एजेन्डा लिएर सकारात्मक रूपमा उत्रन कार्यकर्तालाई निर्देशन दिए।
अगुवा कार्यकर्ता भेलामा बोल्दै नेकपा (एमाले) मकवानपुरका जिल्ला उपाध्यक्ष तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले अन्य दलहरू झुटा आश्वासन र भ्रम फैलाएर जनतालाई अल्मल्याउने काममा लागेको आरोप लगाए। उनले निर्धक्क भएर नेकपा (एमाले) को चुनाव चिन्ह सूर्यमा मतदान गर्न आह्वान गर्दै एमाले मात्र जनताको पक्षमा उभिने, विकास र राष्ट्रहितलाई प्राथमिकता दिने पार्टी भएको दाबी गरे। उपाध्यक्ष लामाले नेकपा (एमाले) का उम्मेदवार रामेश्वर रानालाई जिताउन घर–घरमा पुगेर चुनावी अभियानलाई तीव्र बनाउनु पर्नेमा जोड दिए।
भेलाले बकैयामा नेकपा (एमाले) प्रति जनविश्वास थप बलियो बनेको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा रामेश्वर रानालाई विजयी गराएर विकास, स्थायित्व र परिवर्तनको अभियानलाई निरन्तरता दिने सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ।



