हेटौंडाका ६, ८ र ९ नम्बर वडामा नेकपाको चुनावी अभियान तीव्र
हेटौंडा / मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ६, ८ र ९ मा एकैदिन अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेका छन्।
तीनवटै वडामा आयोजित कार्यक्रमसँगै आजै विभिन्न वडाहरूमा घरदैलो अभियान पनि सञ्चालन गरिएको थियो। साथै, स्थानीय सामाजिक अगुवाहरू र प्रभावशाली व्यक्तित्वहरूसँग भेटघाट गर्दै चुनावी रणनीति र अभियानलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको मकवानपुर जिल्ला क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले जानकारी दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गौतमले देशको वर्तमान अवस्थाले अब निर्णायक राजनीतिक हस्तक्षेप मागिरहेको बताउँदै, “यो चुनाव कुनै व्यक्तिका लागि होइन, यो सुशासन, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने कि नउभिने भन्ने निर्णय हो,” भने। उनले हेटौंडासहित मकवानपुरका विकासका अधुरा कामहरू, रोजगारीको समस्या र युवापुस्ताको भविष्यलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्यहरू प्रल्हाद लामिछाने, बालकृष्ण चौलागाईं, केदारनाथ दुलाल, धनप्रसाद गौतम, ध्रुव भुजेल, बागमती प्रदेश कमिटी सदस्य विवेक राई, माधव तिमल्सिना, तीर्थ थापा मगर लगाएतको उपस्थिति रहेको थियो ।



