गौतमको अपिल: ‘यो मेरो होइन, यो भूगोलको भविष्यको फैसला हो’

पालिका डायरी
२२ माघ २०८२, १८:५३
 गौतमको अपिल: ‘यो मेरो होइन, यो भूगोलको भविष्यको फैसला हो’

प्रतिनिधि सभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा मकवानपुर क्षेत्र नम्बर–१ अन्तर्गत बकैया गाउँपालिका–५ र ६  मा आयोजित अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रमले चुनावी माहोललाई थप तातिएको छ।

कार्यक्रममा बोल्दै मकवानपुर क्षेत्र नम्बर–१ बाट नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विजय गौतमले देशको वर्तमान संकट समाधानका लागि नेकपाको जित अपरिहार्य भएको बताए। उनले राष्ट्रिय स्वाधीनता, सुशासन र सामाजिक न्यायका मुद्दालाई चुनावको केन्द्रमा राख्दै, “यो चुनाव कुनै व्यक्तिको जित–हारको विषय मात्रै होइन, यो भूगोलको भविष्यको फैसला हो,” भने।

गौतमले आफू बकैयामै हुर्किएको, यहीँ पढेको र यही माटोसँग गाँसिएको उम्मेदवार भएको स्मरण गराउँदै स्थानीयका पीडा र आवश्यकताहरू आफूले नजिकबाट बुझेको बताए। “यसअघि जितेका धेरै नेता गाउँ फर्किएनन् भन्ने गुनासो सुनेको छु। म यो ठाउँबाट भाग्ने उम्मेदवार होइन, यहीँका समस्या लिएर यहीँका मानिससँगै लड्ने उम्मेदवार हुँ,” उनको भनाइ थियो।

उनले युवापुस्ताको चाहना र आक्रोशलाई सम्बोधन गर्दै युवाको ऊर्जा र अनुभवको संयोजनबाट मात्रै देशलाई नयाँ दिशामा लैजान सकिने धारणा राखे। नेताहरूले नेकपा देशलाई जोगाउन अग्रपंक्तिमा उभिएको भरोसा योग्य शक्ति भएको उल्लेख गर्दै अब जनमतले पनि देशको रक्षा र रूपान्तरणको जिम्मा नेकपालाई दिन तयार भएको बताए। संविधानलाई जनमैत्री बनाउनेदेखि विकासका ठोस कार्यक्रम कार्यान्वयन गर्नसम्म नेकपाको भूमिका निर्णायक हुने उनीहरूको भनाइ थियो।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, केन्द्रीय सदस्य तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, बागमती प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी माझी ‘कृपा’, प्रदेश कमिटी सदस्य जीवन गोले, सुमन पाख्रिन, परशुराम गौतम, पार्टी नेता गोकर्ण खनाल, मोतिलाल सिङ्गार, बकैया गाउँपालिका संयोजक बिमल नेपाल, वाईसीएल मकवानपुर अध्यक्ष मुक्ति लामा लगायतले सम्बोधन गरेका थिए।

यसैबीच बकैया–६ का शहीद परिवार समित थिङलाई सम्मान गरिएको छ। बकैया–५ मा जमबहादुर मोक्तानको अध्यक्षतामा र बकैया–६ जुनेलीबस्तीमा नेकपा बकैया गाउँपालिका अध्यक्ष पुष्पराज भोलनको अध्यक्षता रहेको थियो ।

प्रतिक्रिया