कैलाशमा २५५ जनामा एचपिभी खोप लगाईदैँ
पाठेघरकोको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस विरुद्धको एचपिभी खोप राष्ट्रिय खोप कार्यक्रम अन्तरगत कैलाश गाउँपालिकाले २५५ जनालाई एचपिभी खोप लगाइने भएको छ । गाउँपालिका स्तरीय खोप समन्वय समितिले विहिबार अभिमुखीकरण कार्यक्रम गर्दै खोप सेवा सञ्चालन गरिने भएको हो ।
गाउँपालिकाका प्रमुअ प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कंडेलको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शर्माले क्यान्सर जस्तो जटिल रोगको निदान गरिनुपर्ने भन्दै विद्यालयमा सहज वातावरण निर्माण गरि खोप कार्यक्रम सञ्चालन गर्न निर्देश दिएका छन् । कार्य तालिका बनाएर काम गर्न आग्रह गर्दै वडातहबाट पनि आवश्यक समन्वय गरि लक्षितवर्गका किशोरीहरु पहिचान गरि खोप लगाउनुपर्ने बताए । नेपालमा दैनिक सरदरमा ४ जनाको पाठेघरको क्यान्सरका कारण मृत्यु भइरहेको तथ्याङ्कहरुले प्रष्ट पारेका छन् ।
कार्यक्रममा वडा ९ का अध्यक्ष भूवन सिंह घलानले गतवर्ष छुटेका किशोरीहरु्रलाई पनि समेट्दै यो खोप लगाउनुपर्ने बताएका छन् । उनले भौगोलिक विकटताले गर्दा विद्यालय बाहिर पनि लक्षित उमेर समूहका किशोरी रहेकाले वडातह र स्वास्थ्यकर्मीको साथमा विद्यालयहरुले पनि सहयोग गरि खोप अभियान सञ्चालन गरिनुपर्ने बताए । यसवर्ष पालिकाभित्र २५५ जनामा खोप लगाइने स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए । विद्यालयका दुई सय जना र गतवर्ष छुटनुका साथै विद्यालय बाहिरका ५५ जना गरी २५५ जनालाई खोप लगाइने गौतमले बताए ।
गाउँपालिकाको १० वटा सामूदायिक विद्यालयमा खोप अभियान सञ्चालन हुनेछ । जसमा वडा १ मा ९ जना, वडा २ मा २५ जना, वडा ३ मा ५४ जना, वडा ५ मा ९ जना, वडा ६ मा १९ जना, वडा ७ मा १९ जना र वडा ८ मा ८ जना, वडा ९ मा ३२ जना र वडा १० मा २५ जना छात्राहरुमा खोप लगाइने गौतमले बताए ।
विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रालाई लगाइने यो खोप पाठेघरको मुखको क्यान्सर विरुद्ध हो । यसको रोकधाम गर्न प्राथमिक तहमा यस खोप दिने र यो खोप प्रारम्भिक किशोरावास्थामा दिनु बढी प्रभावकारी हुने भएकाले १० वर्ष देखी १४ वर्ष सम्मको उमेरमा दिइने स्वास्थ्य प्रमुख गौतमले बताए । उनका अनुसार पाठेघरको मुखको परीक्षण९स्क्रिनिङ्ग० सामान्य अवस्थाका महिलाहरुले भिआइए विधि९३० देखी ४९ उमेर समूह० हरेक ३ वर्षको अन्तराल र एचपिभी विधि ३० वर्ष उमेर माथिकाले हरेक ५ वर्षको अन्तररालमा गरिनुपर्ने बताए । क्यान्सर सुरुकै अवस्थामा निदान भयो भने उपचार गरेर निको समेत हुने उनले बताए । गतवर्ष गाउँपालिकाभित्र एक हजार जनामा खोप लगाइने लक्ष्य राखिएता पनि ९५८ जनामा खोप लगाइएको गौतमले बताए ।
अभिमुखीकरण कार्यक्रममा वडा ९ का वडाध्यक्ष भूवन सिंह घलान, वडा १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, वडा ४ का अध्यक्ष तिलकबहादुर मोक्तान, स्वास्थ्य चौकी ईन्चार्ज, विभिन्न शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।



