टिकट टुंगो नलाग्दै प्रदेश सभा सदस्य काफ्लेले दिए राजीनामा

पालिका डायरी
५ माघ २०८२, १७:१९
टिकट टुंगो नलाग्दै प्रदेश सभा सदस्य काफ्लेले दिए राजीनामा

बागमती प्रदेश सभा सदस्य कुन्दन राज काफ्लेले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका छन्। नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा दोलखा–१ (१) बाट निर्वाचित काफ्लेले आजैको मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्।
दोलखाबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका काफ्लेले सो प्रयोजनका लागि राजीनामा दिएका भए पनि हालसम्म प्रतिनिधि सभाको टिकट भने पक्का भइसकेको छैन।

आफ्नो राजीनामा पत्रमार्फत काफ्लेले सुख–दुःख, सहज–असहज सबै परिस्थितिमा आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने दोलखा जिल्लाका सम्पूर्ण मतदाता तथा शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। उनले विगतमा झैँ आगामी दिनमा पनि जनताको विश्वास र साथ रहने अपेक्षा व्यक्त गर्दै देश र जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता दोहोर्‍याएका छन्।

नेपालको संविधानको धारा १८० को खण्ड (क) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १८४ को उपनियम (१) बमोजिम प्रदेश सभा सदस्य पदबाट औपचारिक रूपमा राजीनामा दिएको काफ्लेले उल्लेख गरेका छन्।

राजीनामाको कारण खुलाउँदै उनले जेनेरेशन (जेन्जी) आन्दोलन पक्षबाट संसदमा प्रतिनिधित्व गर्दै दोलखेली जनताको चाहनाअनुसार प्रतिनिधि सभाको सदस्य भई प्रत्यक्ष रूपमा जनताको सेवा गर्ने उद्देश्यले यो निर्णय लिएको बताएका छन्। यस क्रममा उनले दोलखेली जनताप्रति पूर्ण विश्वास रहेको पनि जनाएका छन्।

प्रदेश सभा सदस्यको रूपमा कार्यरत रहँदा आफूलाई सहयोग, साथ र शुभेच्छा प्रदान गर्ने सम्पूर्ण मतदाता, नेपाली जनता, नेपाली काँग्रेस पार्टी पंक्ति, बागमती प्रदेश सभाका माननीय सभामुख तथा कर्मचारीहरूप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया