कुलमानको पार्टी त्यागेकी विद्या हर्कको पार्टीको उम्मेदवार

पालिका डायरी
१ माघ २०८२, २०:१३

हेटौंडा /  हेटौंडा सडक विस्तारको विरुद्धमा उज्यालो नेपाल पार्टी (उनेपा) पार्टी त्याग गरेकी विद्या श्रेष्ठ हर्क साम्पाङको श्रम, संस्कृति पार्टीबाट चुनाव लड्ने भएकी छिन्।

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर-१ बाट चुनाव लड्ने बताएकी छिन्।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको निर्देशनले हेटौंडा बजार क्षेत्रको सडक विस्तार गरिएको भन्दै श्रेष्ठले उनेपा बाट बाहिरिएकी थिइन्।

जनताको घरमा डोजर आतंक मच्चाउने व्यक्तिको पार्टीमा बस्न नसक्ने भन्दै उनले उनेपा त्यागेकी थिइन्। सडक विस्तार कार्य रोक्न पटक/पटक आग्रह गरे पनि कुलमानले अनुरोध स्वीकार नगरेको आरोप लगाउँदै कुलमानको पार्टी त्यागेकी श्रेष्ठ साम्पाङको पार्टीको उम्मेदवार बनेकी हुन्।

काठमाडौँको स्थायी बासिन्दा रहेकी श्रेष्ठ हेटौंडाको सडक विस्तारको विरुद्धमा संघर्षरत छिन्। श्रम संस्कृति पार्टीको उम्मेदवार बनेकी श्रेष्ठले देश बनाउन माटो चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेकी छिन्।

प्रतिक्रिया