हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जंगलमा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ।
प्राप्त जानकारी अनुसार आइतबार (हिजो) दिउँसो करिब २ बजेको समयमा राक्सिराङ गाउँपालिका–८ राजराङका अन्दाजी ४५ वर्षका गोपाल ब्लोन र मनहरी गाउँपालिका–६ बालुभञ्ज्याङका अन्दाजी ५० वर्षका सेते थिङ सिकार खेल्न जंगलतर्फ गएका थिए। दुबै जना आ–आफ्नो एक–एक थान भरुवा बन्दुक बोकेर हिँडिरहेका थिए।
अगाडि हिँडिरहेका गोपाल ब्लोन लहरामा अल्झिएर लड्न जाँदा उनले बोकेको भरुवा बन्दुक अचानक पड्किन गई पछाडि आइरहेका सेते थिङलाई गोली लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनास्थलमै दुवै भरुवा बन्दुक फेला परेको र घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुरबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर मुचुल्का कार्य सम्पन्न गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



