बागमती प्रदेशमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दो

पालिका डायरी
१० मंसिर २०८२, ११:२०
बागमती प्रदेशमा आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दो

बागमती प्रदेशमा आयुर्वेद उपचारप्रति आकर्षण बढ्दो पाइएको छ।  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्या‌ंकले प्रदेशमा रहेका १३ वटा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गराउनेको संख्या बर्सेनि बढ्दै गएको देखाएको हो।

मन्त्रालयका अनुसार प्रदेशका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पञ्चकर्म, शल्य चिकित्सा सेवा, योग सेवा, ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, अकुपन्चर, फिजियोथेरापी सेवा र प्रयोगशाला उपलब्ध छन्। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा कुल १ लाख ६२ हजार २७२ नागरिकले आयुर्वेद उपचार सेवा लिएका छन्।  त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा जम्मा १ लाख ४९ हजार ५२५ जनाले आयुर्वेद चिकित्सालयमा ओपीडी सेवा लिएका थिए। यो संख्या गत आर्थिक वर्ष २०८१/८२ को भन्दा १२ हजार ७४७ कम हो।

यस्तै आर्थिक वर्ष २०७९/८० मा १ लाख १३ हजार १०५ जनाले मात्रै आयुर्वेद उपचार सेवा लिएका थिए। उल्लिखित तीन आर्थिक वर्षको तथ्यांक हेर्दा २०७९/८० मा भन्दा २०८०/८१ मा र २०८०/८१ मा भन्दा २०८१/८२ मा आयुर्वेद उपचार सेवा लिनेको संख्या बढेको देखाउँछन्।  तथ्या‌ंकअनुसार २०७९/८० मा भन्दा २०८०/८१ मा ३६ हजार ४२० जना बढी तथा आव २०८०/८१ मा भन्दा २०८१/८२ मा १२ हजार ७४७ जना बढीले आयुर्वेद उपचार सेवा लिएका छन्।

गत आर्थिक वर्ष प्रदेशअन्तर्गत सबैभन्दा धेरै काठमाडौँका बिरामीले र सबैभन्दा कम दोलखावासीले आयुर्वेद उपचार सेवा लिएको पाइएको छ। मन्त्रालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष काठमाडौँमा ५० हजार ४२२ जनाले आयुर्वेद उपचार गराएका छन् भने दोलखामा ३ हजार ८४२ जनाले यो सेवा लिएका छन्।

त्यसो त विगतका वर्षमा भन्दा गत आर्थिक वर्ष काठमाडौँमा आयुर्वेद उपचार सेवा लिनेको संख्या अझ घटेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा काठमाडौँका ५२ हजार ४८४ जनाले आयुर्वेद सेवा लिएका थिए भने आर्थिक वर्ष २०७९/८० मा भने २८ हजार ८४० जनाले मात्रै ओपीडी सेवा लिएको मन्त्रालयको तथ्यांक छ।

यता चितवनमा गत आर्थिक वर्षमा १५ हजार २६४ जनाले आयुर्वेद उपचार सेवा लिएको तथ्यांक छ। आर्थिक वर्ष २०८०/८१ मा १२ हजार ८२३ जनाले सेवा लिएकामा आर्थिक वर्ष २०७९/८० मा ७ हजार २१५ जनाले आयुर्वेद उपचार सेवा लिएको प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।

यो तथ्यांकअनुसार चितवनमा पनि आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण बढेको पाइन्छ। यस्तै भक्तपुरमा गत आर्थिक वर्षमा १४ हजार ५६८, आव २०८०/८१ मा १० हजार ५६३ र आव २०७९/८० मा ७ हजार ८८७ जनाले आयुर्वेद उपचार सेवा लिएको मन्त्रालयको तथ्यांक छ। ललितपुरमा गत आर्थिक वर्षमा ६ हजार ८ जना, आव २०८०/८१ मा ४ हजार ३०५ र आव २०७९/८० मा ७ हजार २०४ जनाले आयुर्वेद उपचार सेवा लिएका थिए।

मकवानपुरमा गत आर्थिक वर्षमा १४ हजार ३३४, आव २०८०/८१ मा ११ हजार ५३१ र आव २०७९/८० मा १० हजार ५३५ जनाले आयुर्वेद उपचार सेवा लिएको मन्त्रालयो तथ्यांक छ। काभ्रेमा गत आर्थिक वर्षमा १३ हजार १३५ जना, आव २०८०/८१ मा १८ हजार ५४ जना र आव २०७९/८० मा १४ हजार ५४५ जनाले आयुर्वेदिक उपचार गराएको तथ्यांकमा उल्लेख छ।

यसैगरी सिन्धुलीमा गत आर्थिक वर्षमा ९ हजार ७० जना, आव २०८०/८१ मा ८ हजार ७१८ जना र आव २०७९/८० मा ८ हजार ५०९ जनाले आयुर्वेदिक उपचार सेवा लिएका थिए। नुवाकोटमा गत आर्थिक वर्ष २०८१/८२ मा ९ हजार २८, आव २०८०/८१ मा ८ हजार ७१८ र आव २०७९/८० मा ८ हजार ५०९ जनाले यो उपचार सेवा लिएका थिए। रामेछापमा गत आर्थिक वर्षमा ८ हजार ८४६, आव २०८०/८१ मा ५ हजार ७८४ र आव २०७९/८० मा ८ हजार ११२ जनाले उपचार सेवा लिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

सिन्धुपाल्चोकमा गत आर्थिक वर्ष २०८१/८२ मा ८ हजार ७९३, आव २०८०/८१ मा ७ हजार ८७१ र आव २०७९/८० मा ६ हजार ७९४ जनाले आयुर्वेदिक उपचार सेवा लिएका थिए भने धादिङमा गत आर्थिक वर्षमा ४ हजार ४८६, आव २०८०/८१ मा ४ हजार ३९४ र आव २०७९/८० मा ४ हजार ३६८ जनाले यो उपचार अपनाएको तथ्यांक छ।

रसुवामा पनि आयुर्वेदिक उपचार सेवा लिनेहरूको संख्या बढेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ। तथ्यांकअनुसार रसुवामा गत आर्थिक वर्ष २०८१/८२ मा ४ हजार ४८१ जनाले आयुर्वेदिक उपचार सेवा लिएका थिए। यो संख्या आव २०८०/८१ को भन्दा दोब्बर हो। आव २०८०/८१ मा यहाँ २ हजार १९३ जनाले मात्रै आयुर्वेद उपचार सेवा लिएका थिए। यस्तै आव २०७९/८० मा आयुर्वेद उपचार सेवा लिनेको संख्या २ हजार १८८ मात्रै थियो।

बागमती प्रदेशमा रहेका १३ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमध्ये चितवन र नुवाकोटमा २५/२५ शय्याका अस्पताल छन्।

बाँकी ११ जिल्लामा १६ शय्यायाका सुविधासम्पन्न आयुर्वेद अस्पताल रहेको प्रदेशका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया