चुनावी वाचा पूरा गर्दै अध्यक्ष कालाखेती, निजी लगानीमै सडक ढलान

पालिका डायरी
३० कार्तिक २०८२, १४:१६

मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती २०७९ बैशाखको स्थानीय तह निर्वाचनमा होमिँदा उनको चुनावी एजेण्डा थियो, ‘निर्वाचित भएपछि राज्यकोषको रकम आफूले नलिएर जनताको सेवामा खर्च गर्ने ।’ सोही एजेण्डालाई मूर्त रुप दिएका गाउँपालिका अध्यक्ष कालाखेतीले आफ्नो तलब भत्ता वापतको रकमले २ सय मिटर कच्ची सडकलाई स्ल्याब ढलान गरिदिने भएका छन् ।

उनले व्यक्तिगत खर्चबाटै मनहरी गाउँपालिका–२ कर्मचोक देखि २ नम्बर वडा कार्यालयसम्मको कच्ची सडक निजी खर्चबाटै स्ल्याब ढलान गर्ने उनले निर्णय गरेका हुन् । जेन जी आन्दोलनका कारण गाउँपालिकाको १ करोड १६ लाख रुपैँया बराबरको क्षति भएको र सो पुर्ननिर्माण गर्न खर्च कटौती गर्नपर्ने भएपछि आफ्नै खर्चले स्ल्याब ढलान गर्न लागिएको अध्यक्ष कालाखेतीले बताए ।

उनले व्यक्तिगत खर्चमा ६ मिटर चौडाइ र करिब २०० मिटर लम्बाइको सडकमा स्ल्याब ढलान गरिदिने भएका हुन् । जसका लागि प्राविधिक टोलीमार्फत सडकको जाँचसहित लागत स्टिमेट तयार पारिएको छ । सो स्टिमेट अनुसार स्ल्याब ढलानका लागि करिब २० लाख रुपैयाँ खर्च हुने देखिएको र सोही अनुसार आफूले सहयोग मागेर र व्यक्तिगत खर्चबाटै ढलान गर्ने उनले बताए ।

जेनजी आन्दोलनपछि गाउँपालिकामा देखिएको भौतिक क्षति र बजेट कटौतीका कारण विकास आयोजनाहरू प्रभावित भएको बताउँदै उनले भने, ‘यहाँका स्थानीयहरुले हिउँदमा धुलो उडेर खाना खानै सकिएन अध्यक्ष ज्यु भन्न जानुभयो । बर्खामा पानी परेपछि हिड्नै सकिएन अध्यक्ष ज्यु भनेर पालिकामा धाइरहनु भयो । आन्दोलनका कारण बजेट कटौतीमा पर्यो । तर जसरी पनि ढलान गरिदिन्छु भनेर आँट गरेको हो । पुगेसम्म व्यक्तिगत खर्च गर्छु, नपुगेको खण्डमा साथीभाई संघ संस्थासँग सहयोग माग्छु ।’

स्थानीयको आवश्यकता र मागलाई बुझेर व्यक्तिगत लगानीमै सडक बनाउने निर्णय गरिएको अध्यक्ष कालाखेतीले बताए । निर्वाचित भएर आएको तीन वर्ष पूरा हुँदा पनि सबै ठाउँमा समान विकास पुर्याउन नसकिएको बताउँदै उनले त्यस स्थानमा तत्काल सडक ढलानको आवश्यकता रहेको कारण आफ्नो तलब सुविधा वापत्को रकमले नै ढलान गर्न सुरु गर्न लागिएको उनको दाबी छ ।

२०७९ वैशाखको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट मनहरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उनले सरकारी सेवा सुविधा नागरिकमै प्रयोग गर्दै आएका छन् । सरकारी सवारी सुविधा समेत नलिएका उनले तलब, भत्ता वापत् खातामा प्राप्त हुने रकम आफ्नो गाउँपालिकाका गरिब, सीमान्तकृत समुदाय र सामाजिक कार्यहरुमा खर्चने गरेका छन् ।

उनले यसअघि मनहरी–५ मा वसन्तपुरकी सोनी राईलाई दुईकोठे घर निर्माण गरिदिएका थिए । लामो समयदेखि घरविहिन रहेकी उनलाई वडाको सिफारिसमा अध्यक्ष कालाखेतीले आफ्नो तलबबाट घर निर्माण गरेर हस्तान्तरण गरिदिएका हुन् । यस्तै हाल मनहरी–६ मा अर्को घर निर्माण कार्य भइरहेको उनले बताए ।

यता, मनहरी–२ का वडाध्यक्ष राजकुमार पाख्रिनले अध्यक्ष कालाखेतीको निजी लगानीमा सडक स्तरोन्नति हुन लागेकोप्रति कृतज्ञता व्यक्त गरे । पाख्रिनले आगामी दिनमा पनि जनताको समस्यामा निरन्तर साथ दिन आग्रह गरे । यस्तै, भुन्द्रुङ टाँडी टोल विकास समिति सदस्य शान्तिमाया थिङले टोलका बासिन्दाको तर्फबाट अध्यक्ष कालाखेतीलाई आभार व्यक्त गर्दै व्यक्तिगत लगानीमै सडक स्तरीकरण हुन लाग्नु टोलवासीका लागि ठूलो राहत हुने बताइन् ।

प्रतिक्रिया