तुइनखोलाको पहिरो हटाउन ४५ घण्टा लाग्यो, यातायात सञ्चालनमा
नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइनखोलामा आएको पहिरो हटाउने काम सकिएको छ ।
सडक डिभिजन कार्यालय, चितवनले दुवैतर्फबाट मेसिनहरू निरन्तर काम लगाएर पहिरो हटाइसकिएको र सडक आवागमन सुचारु गरिएको जानकारी दिएको हो। ४५ घण्टापछि यातायात सञ्चालनमा आएको हो ।
शुक्रबार साँझदेखि ठूलो पहिरो गएपछि त्यो क्षेत्र हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित भएको थियो। शनिबार दिनभर पहिरो हटाउने प्रयास भएको भए पनि पहिरो आउन क्रम नरोकिएका कारण आइतबार बिहान ३ बजेसम्मलाई स्थगन गरिएको थियो ।
सडक डिभिजन कार्यालय, चितवनले नारायणगढतर्फ ३ वटा स्काभेटर लोडर र मुग्लिङतर्फ पनि ३ वटै स्काभेटर लोडर प्रयोग गरेर पहिरो पन्छ्याएको हो । माथिबाट पहिरो नखसेका कारण सडक सुचारु गर्न सकिएको सडक डिभिजन कार्यालय, चितवनका कार्यालय प्रमुख नारायणप्रसाद लामिछानेले बताए।

