स्वच्छ विद्यालय, सुरक्षित बालबालिका र पर्यटनमैत्री हेटौंडा निर्माणमा विद्यालयको भूमिका महत्वपूर्ण : प्रजिअ अधिकारी
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले सञ्चालन गर्न लागेको पर्यटन वर्ष २०८३ लाई लक्षित गर्दै विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई पर्यटनसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
‘स्वच्छ विद्यालय, सुरक्षित बालबालिका र पर्यटनमैत्री हेटौंडा’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०८३ को उपसमिति शैक्षिक संस्था तथा सामुदायिक परिचालन समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको सभाध्यक्षता तथा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी अधिकारीले विद्यालयलाई केवल पठनपाठनको केन्द्रका रूपमा मात्र नभई अनुशासन, सामाजिक जिम्मेवारी, वातावरण संरक्षण, नागरिक चेतना र पर्यटन प्रवर्द्धनको आधार तयार गर्ने महत्त्वपूर्ण संस्थाका रूपमा विकास गर्नुपर्ने बताए।
उनले विद्यालय क्षेत्रमा अनुशासन कायम गर्ने, जिम्मेवार शिक्षक तथा विद्यार्थी निर्माण गर्ने, स्वच्छ र बालमैत्री विद्यालय वातावरण बनाउने, लैङ्गिक समानताको व्यावहारिक कार्यान्वयन गर्ने तथा वातावरण संरक्षणसम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताए।
सार्वजनिक सम्पत्तिको संरक्षण, नागरिक जिम्मेवारी र सामाजिक उत्तरदायित्वका विषयमा विद्यार्थीलाई विद्यालय तहदेखि नै सचेत बनाउनुपर्ने उल्लेख गर्दै अधिकारीले यस्ता विषयमा विद्यार्थीमार्फत समुदायसम्म चेतना फैलाउने काममा शिक्षकको भूमिका महत्त्वपूर्ण हुने बताए।
उनले पर्यटन विकासलाई केवल पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा सीमित नराखी स्थानीय नागरिकको व्यवहार, सरसफाइ, अनुशासन, वातावरण संरक्षण र पर्यटकप्रतिको सकारात्मक व्यवहारसँग जोड्नुपर्ने धारणा राखे। विद्यालयबाटै पर्यटन तथा नागरिक संस्कारसम्बन्धी चेतना विकास गर्न सके हेटौंडालाई दीर्घकालीन रूपमा पर्यटनमैत्री सहरका रूपमा स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा विद्यालयमा स्वच्छता कायम गर्ने, बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने, विद्यालय परिसर तथा आसपासको वातावरण सफा राख्ने, पर्यटकीय क्षेत्रको संरक्षण तथा प्रवर्द्धनमा विद्यार्थीलाई सहभागी गराउनेलगायतका विषयमा समेत छलफल गरिएको थियो।
हेटौंडा उपमहानगरपालिकाले पर्यटन वर्ष २०८३ लाई प्रभावकारी बनाउन विभिन्न क्षेत्र र समुदायलाई जोड्दै आएको छ। त्यसै क्रममा शैक्षिक संस्थालाई अभियानको महत्त्वपूर्ण साझेदारका रूपमा सहभागी गराउँदै विद्यालयमार्फत विद्यार्थी, अभिभावक र समुदायसम्म पर्यटनसम्बन्धी सकारात्मक सन्देश पुर्याउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
विद्यालय तहबाटै स्वच्छता, सुरक्षा, अनुशासन, वातावरण संरक्षण र पर्यटनप्रतिको सकारात्मक सोच विकास गर्न सके त्यसको प्रभाव विद्यार्थी हुँदै परिवार र समग्र समुदायमा पुग्ने भएकाले पर्यटन वर्षको अभियानमा शैक्षिक संस्थाको सहभागितालाई महत्त्वपूर्ण मानिएको छ।
कार्यक्रमले हेटौंडालाई स्वच्छ, सुरक्षित, बालमैत्री तथा पर्यटनमैत्री सहरका रूपमा विकास गर्ने अभियानमा विद्यालय, शिक्षक, विद्यार्थी र समुदायबीचको सहकार्य थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


