मुख्यमन्त्री बानियाँद्वारा राजीनामा घोषणा

पालिका डायरी
१ भाद्र २०८३, १४:५५

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

सोमबार बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्। साउन ६ गते एमालेले दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका बानियाँले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेश सभा बैठक बसेको थियो।

बहुमत सदस्यको समर्थन प्राप्त हुने नदेखे पनि उनले सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गरेका हुन्।

बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन्। जसमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ।

कांग्रेसका ३६ र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा) को दुई गरी ३८ सांसद मात्रै आफ्नो पक्षमा देखेपछि मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन्।

उनी २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए। आफ्नै दलभित्र शक्ति प्रदर्शन गरेर बागमती प्रदेशको छैठौँ मुख्यमन्त्री बनेका बानियाँ एक वर्षमै सत्ताबाट बाहिरिएका छन्।

उनले प्रदेश सभामा सम्बोधन गर्दै यस अवधिमा आफूले प्रदेशबासीको हितमा धेरै काम गरेको बताए। अझै धेरै काम गर्न बाँकी हुँदाहुँदै राजनीतिक परिवेशका कारण राजीनामा दिन परेको बताए।

‘हामीले जुन उद्देश्यका लागि संवैधानिक तथा संसदीय व्यवस्था अपनायौँ, त्यसअनुसारको अभ्यास र संसदीय मर्यादा कायम गर्नुपर्ने विषयमा अझै केही कुरा व्यवस्थित गर्न बाँकी रहे,’ मुख्यमन्त्री बानियाँले भने।

प्रतिक्रिया