हेटौंडा १५ नम्बर वडा कार्यालय अस्थायी रुपमा स्वास्थ्य चौकी भोर्लेबाट सेवा प्रवाह हुने

पालिका डायरी
३१ भाद्र २०८२, १४:२४

हेटौंडा /  हालसालै हेटौंडा–१५ नम्बर वडा कार्यालयमा जेनजी समूहद्वारा भएको आगजनीजन्य घटनाका कारण नियमित कामकाज सञ्चालनमा असुविधा भएको हुँदा वडावासीलाई आवश्यक सेवा–सुविधा निरन्तर रुपमा प्रदान गर्न वैकल्पिक व्यवस्था गरिएको छ।

यस सम्बन्धमा हेटौंडा–१५ का सत्तारूढ दल, वडा समन्वय समिति तथा जनप्रतिनिधिहरूको संयुक्त बैठक बसेर तत्कालका लागि हेटौंडा–१५ स्थित सरकारी भवनभित्र रहेको स्वास्थ्य चौकी भोर्लेलाई अस्थायी वडा कार्यालयको रूपमा प्रयोग गर्ने निर्णय गरिएको छ।

वडा अध्यक्ष सुनिल मोक्तानका अनुसार जनतालाई जानकारी दिँदै भने, “वडावासीको हितलाई प्राथमिकता दिँदै हामीले तत्कालीन व्यवस्थाको रूपमा भोर्लेबाट कामकाज सञ्चालन गर्ने निर्णय गरेका छौँ। वडाको नागरिकलाई सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने हाम्रो उद्देश्य हो। हामी जनताको पहिलो सरकार भएकाले जनतालाई सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो,” उनले भने।

त्यस्तै, बैठकमा सहभागी जनप्रतिनिधिहरूले पनि अस्थायी व्यवस्थाबाट सहजतापूर्वक सेवा प्रवाह गर्न सम्पूर्ण वडावासीको सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्।

कार्यालयले वडावासीका कामकाज हाललाई स्वास्थ्य चौकी भोर्लेमै हुने र सबै सेवा–सुविधा अस्थायी रुपमा सोही स्थानबाट निरन्तर उपलब्ध गराइने स्पष्ट पारेको छ।

प्रतिक्रिया