शिवम सिमेन्टद्वारा काठमाडौंमा सरसफाई तथा श्रमदान
हेटौंडा / अब जुट्ने बेला हो – हामी सबै आ–आफ्नो क्षेत्रमा सहयोग र सहकार्य गर्दै अगाडि बढौं” भन्ने मूल नारासहित शिवम सिमेन्टले आज काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कम्पनीका उच्च अधिकारी, कर्मचारी, स्थानीयवासी तथा स्वयंसेवकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बिहानैदेखि सुरु भएको सरसफाई अभियानमार्फत प्रशासन कार्यालय वरपरको परिसर, बाटो, बगैँचा र सार्वजनिक शौचालयसम्म सफा गरिएको थियो ।
शिवम् सिमेन्टका प्रतिनिधिहरूका अनुसार सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजित यो अभियानले सरकारी कार्यालयलाई स्वच्छ बनाउन मात्र नभई सरसफाईप्रति जागरण र नागरिकमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्य लिएको हो ।
कार्यक्रमका क्रममा सहभागीहरूले ‘स्वच्छ वातावरण, स्वस्थ समाज’, ‘हामी सबैको सरसफाई, हाम्रो साझा जिम्मेवारी’ जस्ता नारासमेत उच्चारण गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले पनि शिवम् सिमेन्टको यो सामाजिक पहलको प्रशंसा गर्दै यसले आगामी दिनमा अन्य संस्थाहरूलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे ।

