हेटौंडा / बागमती प्रदेशसभाका सांसदहरू समक्ष आज हेटौंडामा आयोजित कार्यक्रममा सहभागीहरूले समस्यानै समस्याका चाङ राखेका छन् । जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा संसदीय निगरानीका लागि बागमती प्रदेशका विभिन्न सवालहरूको पहिचान सम्बन्धी कार्यशालामा नागरिकहरूले आफ्ना क्षेत्रका विविध समस्याहरू राखेका हुन् ।
प्रदेशका सांसदमार्फत सरकार समक्ष आफ्ना क्षेत्रका समस्याहरू राख्न सकियोस् भन्ने उद्देश्यले यहाँका अधिकारकर्मी, नागरिक समाज, गैरसरकारी संस्था, सामुदायिक वन, टोल विकास संस्था, सञ्चारकर्मीहरूले आफ्ना क्षेत्रमा परेका विविध समस्याहरू सांसदहरू समक्ष प्रस्तुत गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशसभाका उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले नागरिकको पहुँचको आधारमा नभई आवश्यकता अनुसार सरकारले उनीहरूका लागि काम गर्नुपर्ने बताउनुभयो । सदनमा रहुन्जेलसम्म आफूहरूले जनताका विषय उठाउने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘जनताबाट नै निर्वाचित भएर आएकाले उनीहरुकै लागि हामीले काम गर्ने हो । सरकारका प्रतिनिधि समितिमा राखेर समेत छलफल गर्ने निर्देशन दिइए पनि त्यसअनुसार काम हुन सकेको छैन ।’
एचआइभी संक्रमित तथा प्रभावितका समस्याहरू धेरै रहेको र तिनको न्यूनिकरणका लागि आफूहरू लागिपरेको उल्लेख गर्दै उहाँले अर्को ठूलो समस्या कुकुरले टोकेपछि लगाइने रेविजको सुई सरकारी अस्पतालमै नपाइने भएको बताए । जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको स्वीकार गर्दै उहाँले थप्नुभयो– ‘जनताका यावत समस्या छन् । हामीले सदनमा उठाएका पनि छौं, तर कार्यान्वयन सरकारले गर्दैन । शून्य समय, विशेष समयमा बोल्दा नागरिकका समस्याहरू उठाउने गरेको छ ।’
बागमती प्रदेशसभाका सदस्य भारती पाठकले आजको कार्यक्रम कुनै एउटा विषयमा मात्र केन्द्रित नभई समग्र क्षेत्रमा रहेका मुद्दा र समस्याहरूलाई वास्तविक धरातलमा प्रस्तुत गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यहाँहरूले उठाउनु भएको विषयले हामीलाई सदनमा कुरा राख्न ताजा र सान्दर्भिक मुद्दा प्रदान गर्नेछ । यसअघि पनि विपद् व्यवस्थापनसम्बन्धी विषयमा स्थलगत छलफल गरेर सदनमा उठाएका थियौँ । कार्यक्रमबाट हामीले महत्त्वपूर्ण पृष्ठपोषण प्राप्त गरेका छौँ ।’
उनले थप्नुभयो– ‘जति गर्नुपर्ने हो, त्यति हुन सकेको छैन होला, तर जनसरोकारका विषय उठाउन हामीले कन्जुस्याइँ गरेका छैनौँ । बरु अझै कस्ता विषय उठाउन सकिन्छ भनेर जनतासँगै सोधेर अघि बढ्ने गरेका छौँ ।’
पत्रकार तथा सञ्चारकर्मीहरूलाई नजिकका सूचनाको स्रोतका रूपमा प्रयोग गर्दै संसदमा मुद्दा उठाउने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो–‘हाम्रो समिति उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा भए पनि यहाँ उठेका विषयहरू साझा सरोकारका हुन् । कुनै एक समिति छान्नुपर्ने भएकाले यो समिति छानेका हौँ । तर जनसरोकारका सबै मुद्दा हामीले उठाउनैपर्छ ।’
अपाङ्गताको विषय उठाउनु अत्यन्तै जायज रहेको बताउँदै उहाँले निरन्तर रूपमा यस्ता विषय सदनमा उठाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो–
‘कानुन बनाउनु मात्र ठूलो कुरा होइन, त्यो कानुन जनमुखी भयो कि भएन? जनसरोकारका विषय सम्बोधन भए कि भएनन् भन्ने कुरा झनै महत्त्वपूर्ण छ ।’
आम नागरिकलाई निराश नहुन आग्रह गर्दै सांसद पाठकले भन्नुभयो–‘हामी जनता, समुदाय, महिला, दलित, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूका मुद्दा उठाउन पछि पर्दैनौँ । यहाँ उठाइएका विषय तीन जनालाई मात्र भनिएको होइन, बागमती प्रदेशसभाका ११० जना सदस्य सबैले उठाउनुपर्ने विषय हुन् ।’
त्यसैगरी बागमती प्रदेशसभा सदस्य धनेश्वरी प्रजापतिले प्रदेश स्थापना भएको करिब आठ वर्ष भए पनि पार्टीभित्रको गुटबन्दी, दलभित्रको उपगुटबन्दी र एक–अर्काको खेदो खन्ने प्रवृत्तिले गर्दा नागरिकका मुद्दामा ध्यान कम गएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘सरकार लामो समय टिक्दैन भन्ने धारणा, एकपछि अर्को सरकार बनाउने खेलले जनतामा विश्वास घटेको छ । आफ्ना मान्छेलाई जागिर खुवाउने, नियुक्ति दिने र अनुदान बाँड्ने प्रवृत्ति मौलाएको छ । यस्तो गलत प्रवृत्तिविरुद्ध मैले प्रदेशसभामै आवाज उठाएको थिएँ । हजारौँ नेपालीको बलिदानबाट आएको गणतन्त्रको जग आज हल्लिरहेको छ ।



