३६औं जिल्ला जुनियर युवा रेडक्रस गोष्ठी सम्पन्न , ११ बुँदे घोषणापत्र जारी
नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा गत शुक्रबारदेखि सुरु भएको ३६औं जिल्ला जुनियर युवा रेडक्रस गोष्ठी शनिबार सम्पन्न भएको छ।
जुनियर रेडक्रस सर्कल अरनिको मावि, हेटौंडा–१९ को आतिथ्यतामा आयोजित गोष्ठी ११ बुँदे अरनिको घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका उपमन्त्री तथा जिल्ला जुनियर युवा समितिका संयोजक शिवहरि दाहालको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रमको उद्घाटन रेडक्रस मकवानपुरका सभापति लालबहादुर थापाले गर्नुभएको थियो।
गोष्ठीमा मकवानपुर जिल्लाका ६५ वटा सामुदायिक तथा संस्थागत विद्यालय एवं समुदाय स्तरमा गठित जुनियर एवं युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षक नायकहरू गरी ३ सय जनाको उपस्थिति रहेको थियो।
गोष्ठीमा जुनियर युवा सर्कलले गरेको वार्षिक कार्यक्रमको समीक्षा गरी २०८२/८३ को वार्षिक कार्ययोजना निर्माण, हाजिरीजबाफ प्रतियोगिता, रेडक्रसका आधारभूत ७ सिद्धान्तको नाटक प्रदर्शन गर्दै नेतृत्व विकास, रेडक्रस अभियान र विपद् व्यवस्थापनसम्बन्धी कार्यशालाको आयोजना गरिएको रेडक्रस मकवानपुरका उपमन्त्री शिवहरि दाहालले जानकारी दिए।
गोष्ठीले ३७औं जिल्ला जुनियर/युवा रेडक्रस गोष्ठी जनकल्याण मावि, पालुङको आतिथ्यमा २०८३ सालमा आयोजना गर्ने निर्णय गर्दै जनकल्याण माविका शिक्षक नायक मनोज लामिछानेलाई रेडक्रसको झन्डा हस्तान्तरण गरेको छ। त्यस्तै २०८३ को जिल्ला स्तरीय शिक्षक नायक गोष्ठी जनता मावि, सुकौरा र जिल्ला स्तरीय प्रधानाध्यापक गोष्ठी आधुनिक राष्ट्रिय मावि, हेटौंडामा आयोजना गर्नेगरी वार्षिक कार्ययोजना निर्माण गरेको छ।
समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१९ नं. वडाका वडा अध्यक्ष नरनाथ सुबेदी, अरनिको मावि व्यब्स अध्यक्ष गान्धी घलान, नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाका उपसभापति यशोदा श्रेष्ठ, मन्त्री सुमित्रा काफ्ले, उपकोषाध्यक्ष मंगल रखाल, सदस्यहरू रामजी सापकोटा, पिताम्बर बास्तोला, पूर्व उपसभापति उमेश बाँस्कोटा, कार्यालय प्रमुख लक्ष्मण भट्टराई, लेखा प्रमुख रामजी खतिवडा, प्रधानाध्यापक विष्णु परियार, कार्यक्रम संयोजक तथा सहायक प्रधानाध्यापक राजु घले, शिक्षक नायक बिनाकुमारी लामा, पिटिए अध्यक्ष रामप्रसाद पौडेल, जिल्ला जुनियर युवा समितिका सदस्य हिक्मत श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए।

