हेटौंडामा ‘बी एण्ड बी फ्रेश हब’ संचालनमा
हेटौंडा / हेटौंडा-४ कान्तिराजपथमा ‘बी एण्ड बी फ्रेस हब’ सञ्चालनमा आएको छ। बागमती प्रदेशका पूर्व मन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक एका लाल श्रेष्ठले रिबन काटेर शनिबार उद्घाटन गरेका हुन्।
सात–आठ वर्ष विभिन्न देशहरूमा रोजगारी गरेर स्वदेश फर्किएका हेटौंडा-८ का विवेक पाण्डेले करिब १२ लाख रुपैयाँ लागतमा फ्रेस हब सञ्चालनमा ल्याएका हुन्। यहाँ ताजा फलफुल, फ्रेश जुस, मट्का टी, बबल टी, कफी लगायतका परिकार उपलब्ध छन्। शान्त वातावरणमा रहेको यो हब कान्तिराजपथ स्थित पुर्ण शाक्यको अगाडिमा अवस्थित छ।
उद्घाटन समारोहमा प्रमुख अतिथि श्रेष्ठले स्वदेशमै लगानी गर्ने युवाहरूलाई प्रेरणा मिल्ने खालका व्यवसायले स्थानीय अर्थतन्त्रमा टेवा पुग्ने बताए। उनले भने, “विदेशमा सिकेको अनुभवलाई मातृभूमिमा प्रयोग गर्नु प्रशंसनीय कार्य हो। स्वदेशमै यस्ता व्यवसाय सुरु गरेर रोजगार सिर्जना गर्नु अहिलेको आवश्यकता हो।”
संचालक पाण्डेका अनुसार विदेशमा सिकेको अनुभवलाई आफ्नै शहरमा प्रयोग गर्ने उद्देश्यले यो व्यवसाय सुरु गरिएको हो। हेटौंडावासीलाई स्वास्थ्यप्रद पेय तथा फलफुलको विकल्प उपलब्ध गराउँदै स्थानीय युवालाई रोजगारीसमेत सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए।

