मन्त्री श्रेष्ठद्वारा काठमाडौं उद्योग वाणिज्य कार्यालयको अनुगमन, छिटोछरितो सेवाप्रवाह गर्न निर्देशन
हेटौंडा / बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले काठमाडौं उद्योग तथा वाणिज्य कार्यालयको अनुगमन गर्दै तत्काल सेवाप्रवाहलाई छिटोछरितो बनाउन निर्देशन दिएकी छन्।
अनुगमनका क्रममा मन्त्री श्रेष्ठले कार्यालयमा अस्तव्यस्त देखिएका फाइल तथा कागजातलाई व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै सेवाग्राहीलाई प्रभावकारी र सहज तरिकाले सेवा उपलब्ध गराउन आग्रह गरिन्। उनले निकट भविष्यमा सम्पूर्ण कार्य प्रणालीलाई प्रविधि–मैत्री बनाउन मन्त्रालयबाटै प्रक्रिया सुरु हुने जानकारीसमेत दिइन्।
यस अवसरमा कार्यालय प्रमुख यादव आचार्यले मन्त्री श्रेष्ठलाई स्वागत गर्दै गत आर्थिक वर्षको कार्य प्रगतिबारे विस्तृत जानकारी प्रस्तुत गरे। साथै, चालु आर्थिक वर्षका लागि कार्यालयले अघि सारेका योजनाबारे पनि जानकारी दिए।
मन्त्री श्रेष्ठको निर्देशनले सेवा प्रवाह थप सहज र पारदर्शी हुने विश्वास कार्यालयले व्यक्त गरेको छ।

