हेटौंडामा सवारी दुर्घटना, एक जनाको मृत्यु
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरस्थित पूर्व–पश्चिम राजमार्गमा शनीबार (हिजो) साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अन्दाजी ५ बजे रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो । सो क्रममा बा.प्र.०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल चालक पर्सा, वीरगन्ज महानगरपालिका–१३ मुर्ली निवासी ४८ वर्षीय प्रविण श्रेष्ठ सामान्य घाइते भएका छन् ।
उक्त मोटरसाइकलमा पछाडी सवार उनकी श्रीमती ४३ वर्षीया कविता जोशी श्रेष्ठ भने दुर्घटनापछि हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ७ ख ५०१० नम्बरको बसमा समेत ठोक्किँदा गम्भीर घाइते भएकी थिइन् । दुवै जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा कविता जोशी श्रेष्ठलाई उपचारको क्रममा साँझ ६ बजे चिकित्सकले मृत घोषणा गरेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल, बस र सम्बन्धित चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



