मनहरीले मुख्यमन्त्रीको स्वागतसँगै तीज विशेष कार्यक्रम गर्दै

पालिका डायरी
३ भाद्र २०८२, १०:५२
मनहरिका अशक्तलाई घरमै पुगेर नागरिकता

हेटौंडा /  मकवानपुरको मनहरी गाउँपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको स्वागतसँगै तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।  भोलि भदौ ४ गते गाउँपालिकाको लामिटार सभाहल प्राङ्गणमा सांस्कृतिक कार्यक्रमका साथ मुख्यमन्त्रीको स्वागत र तीज विशेष कार्यक्रमको आयोजना गर्न लागिएको जनाइएको छ ।

मनहरी गाउँपालिकासमेत समेटिएको मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँ प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसँगै गाउँबासीमा समेत उत्साह छाएको भन्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पालिकाले मुख्यमन्त्रीको बधाई तथा स्वागत कार्यक्रम राखिएको जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएपछि आफू निर्वाचित क्षेत्रमा पहिलोपटक बानियाँ औपचारिक स्वागत कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा गाउँपालिकाले हरेक वर्ष विशेष कार्यक्रमको आयोजना गर्दै आइएकोमा यस वर्ष पनि विविध सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदानप्रदान गर्न लागिएको अध्यक्ष कालाखेतीले बताए ।
कार्यक्रममा गाउँपालिका क्षेत्रका विभिन्न संघ संस्था, सहकारी, टोल विकास समिति, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, राजनीतिक दलका महिला समितिका प्रतिनिधिलगायतलाई गाउँपालिकाले तीज विशेष कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । तीज विशेष कार्यक्रममा मनहरीको आस्था कला केन्द्रका कलाकारहरुले विभिन्न तीज गीतमा मौलिक नृत्य प्रस्तुत गर्नुका साथै अन्य सांस्कृतिक कार्यक्रम पनि गरिने जनाइएको छ ।

कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, जिल्ला समन्वय समितिका पदाधिकारी, प्रमुख जिल्ला अधिकारीलगायतको समेत सहभागिता रहने गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया