बागमतीमा सप्ताहव्यापी लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु
हेटौंडा / गाई भैंसीमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि बागमती प्रदेशभर लम्पी स्किन विरुद्धको सप्ताहव्यापी खोप अभियान सुरु गरिएको छ । आइतबार (आज) बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले औपचारिक रुपमा सप्ताहव्यापी खोप अभियानको शुभारम्भ गरेका हुन् ।
मन्त्री पौडेलले ललितपुरको कान्ञ्जोसोम गाउँपालिका–१ स्थित चौघरेमा औपचारिक कार्यक्रमकाबीच खोप अभियानको सुरुवात गरिएको हो । काठमाडौँ उपत्यकाको माग धान्ने गरि दुध उत्पादन हुने यो क्षेत्रका पशुमा लम्पी स्किन रोग नफैलियोस् भन्ने उदेश्यले यहाँबाट खोप अभियान सुरुवात गरिएको मन्त्री पौडेलले बताए । पशु धनको सम्भावित क्षति न्यूनीकरण गर्न अग्रिम तयारीस्वरूप खोप अभियान ल्याइएको उनले बताए ।

मन्त्रालयका अनुसार आजबाट सुरु भएको खोप अभियान प्रदेशका १३ वटै जिल्लामा सञ्चालन भएको अभियान अन्तर्गत १ लाख २० हजार गाईभैँसीलाई खोप दिने लक्ष्य राखिएको छ ।
यस वर्षको अभियानअन्तर्गत ललितपुरमा १० हजार, काभ्रेमा १४ हजार, नुवाकोट र सिन्धुलीमा १२ हजार ९१२ हजार, दोलखामा ६ हजार, चितवनमा ३० हजार, धादिङमा ११ हजार, मकवानपुरमा २५ हजार पशुमा खोप दिइनेछ । बागमतीमा हाल ११९ स्थानीय तहअन्तर्गत ६ लाख ९४ हजार २१७ गाई र पाँच लाख ४९ हजार १८२ भैंँसी रहेका छन् ।
मन्त्रालयका अनुसार रोग लागेपछि गाईभैँसीमा उच्च ज्वरो आउने, शरीरमा गाँठा देखिने, खुट्टा सुन्निने, हिँड्न गाह्रो हुने, दुध उत्पादन ८० प्रतिशतसम्म घट्नेलगायतका लक्षण देखापर्छन् । अघिल्लो आर्थिक वर्षमा प्रदेशभर ७१ हजार ९७७ वटा पशुलाई खोप दिइएको थियो । ०७७ साल असारमा नेपालमा पहिलोपटक प्रमाणित भएको यो रोग हालसम्म सबै ७७ जिल्लामा फैलिएको छ ।
सरकारले यसबाट ७५ अर्ब ४८ करोड रुपैयाँबराबरको आर्थिक क्षति भएको अनुमान गरेको छ। यस वर्ष साउनदेखि भदौसम्म बागमतीका मकवानपुर, सिन्धुली, काभ्रे र चितवनमा मात्र ७४ पशुको मृत्यु र एक हजार ६३३ पशु प्रभावित भएका छन् ।


