हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेचोकस्थित कान्तिराज लोकपथ सडक खण्डमा प्रहरीले लागुऔषध खैरोहेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ ६ बजे तिर सवारी चेकजाँचको क्रममा ना. ३५ प ६७१२ नम्बरको स्कुटरलाई रोकेर जाँच गर्दा ५२० मिलिग्राम खैरोहेरोईन फेला पारेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. ५ निवासी २१ वर्षीय बिशेष शाक्य र वडा नं. ६ निवासी ३८ वर्षीय सुवास चौलागाईं रहेका छन्। दुबैजनालाई नियमानुसार खानतलासी गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागूऔषधसहित शाक्य र चौलागाईंलाई नियन्त्रणमा लिइ लागुऔषध सम्बन्धी कसुरअन्तर्गत मुद्धा दर्ता गरिएको र मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।



