हेटौंडामा ठूलो परिणाममा लागूऔषध ट्रामाडोल बरामद, एक जना पक्राउ
हेटौंडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले साउन १२ गते राति ८ बजेकाे समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. १३ आदामारस्थित सडकमा शंकास्पद रुपमा हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिई ठूलो परिणाममा लागूऔषध ट्रामाडोल बरामद गरेको छ ।
प्रहरीका अनुसार हेटौंडा १३ मा बसोबास गर्ने वर्ष ३० का प्रविन लामालाई रितपूर्वक खानतलासी गर्दा उनको साथबाट ३,००० क्याप्सुल ट्रामाडोल बरामद गरिएको ह । प्रारम्भिक अनुसन्धानको क्रममा लामाले उक्त लागूऔषध हेटौंडा उपमहानगरपालिका वडा नं. १२ का एक व्यक्तिसँग खरिद गरेको बताएका थिए ।
लामाको बयानका आधारमा लागूऔषध बिक्रेतालाई पक्राउ गर्न जाँदा ती व्यक्ति प्रहरी देख्नेबित्तिकै साथमा रहेको झोला फालेर फरार भएका थिए । झोलाको जाँच गर्दा थप ६,००० क्याप्सुल ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका लामामाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मकवानपुर जिल्ला अदालत हेटौंडाबाट म्याद लिई अनुसन्धान जारी रहेको र फरार व्यक्तिको खोजतलास तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।



