कर्णावती छ्योदेन गुम्बा परिसरमा राष्ट्रिय युवा संघद्वारा वृक्षारोपण
हेटौंडा / राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले हेटौंडा–९ को कर्णावती छ्योदेन गुम्बा परिसरमा वृक्षारोपण गरेको छ। युवा संघको एक महिनाको वृक्षारोपण अभियान अन्तर्गत शनिबार जिल्ला कमिटीको आयोजनामा वृक्षारोपण गरिएको हो।
गुम्बा परिसरको खाली रहेको जमिनमा कागती, अम्बा, लिची, जामुन, तेजपत्ता लगायत फलफूल जातका १०० भन्दा बढी बिरुवा रोपिएको हो। राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका अध्यक्ष राजेश नगरकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ, एमाले जिल्ला कमिटी उपाध्यक्ष हिदम लामा, सचिव सीता बिष्ट, उपसचिव आरती पाठक र फुर्वा लामा, युवा संघका केन्द्रीय कमिटी सदस्य एवं मकवानपुर इन्चार्ज प्रतिमा श्रेष्ठ, केन्द्रीय सदस्य सागर पाण्डे, हेटौंडा–९ का अध्यक्ष सुकराम केसी, १५ नम्बर वडाध्यक्ष सुनिल मोक्तान लगायत युवाहरूको सहभागिता रहेको थियो।
‘हरियाली हाम्रो पहिचान, वृक्षारोपण हाम्रो अभियान’ भन्ने नारासहित राष्ट्रिय युवा संघ नेपालले असार १४ गतेदेखि साउन १४ गतेसम्म एक महिनाका लागि विशेष अभियानका साथ वृक्षारोपण अभियान चलाएको युवा संघ मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले बताए। नगरकोटीका अनुसार युवा संघ थाहा नगर कमिटीले पनि आजै पालुङमा वृक्षारोपण गरेको छ।



