हेटौंडामा मेघा किचन सञ्चालन, चार वडाका ७ हजार विद्यार्थी लाभान्वित

पालिका डायरी
९ असार २०८२, १८:२५

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको ९ विद्यालय लक्षित गर्दै दिवा खाजाका लागि मेघा किचन सञ्चालनमा आएको छ।
विद्यार्थीहरूको दिवा खाजा व्यवस्थापनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाको वडा नं. ६, १६, १७ र १८ मा रहेका नौ विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ‘मेघा किचन’ सञ्चालनमा ल्याइएको हो।

चार वडाका विद्यालय लक्षित गर्दै हेटौंडा–१७ मा रहेको बालबोध माविमा किचन सञ्चालन भई खाजा वितरण हुने हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले जनाएको छ। सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा देशका सबै प्रदेशमा ‘मेघा किचन’को व्यवस्था गरे पनि बागमती प्रदेशको हेटौंडाबाट खाजा वितरणको काम अघि बढेको हो।

खाजा वितरणका लागि बालबोध माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप अर्यालको अध्यक्षतामा मेघा किचन व्यवस्थापन समिति गठन गरेर कामलाई अघि बढाइएको शिक्षा महाशाखाका प्रमुख सिताराम कोइरालाले जानकारी दिए। किचनबाट बालबोधसहित वंशीगोपाल, जनप्रिय, लक्ष्मी आधारभूत, ज्योति, गोरक्षश्वर, कमला, दिव्यज्योति र राजदेवी माविमा खाजा जाने व्यवस्था मिलाइएको समितिका अध्यक्ष अर्यालले जानकारी दिए।

सङ्घीय सरकारबाट चैत्र महिनामा खाजा व्यवस्थापनका लागि बजेट आए पनि आन्तरिक तयारी मिलाउने क्रममा भर्खरै मात्र किचन सञ्चालनमा आएको महाशाखाका प्रमुख कोइरालाले बताए। उनका अनुसार चार वडाका नौ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने ७ हजार विद्यार्थी खाजाबाट लाभान्वित हुनेछन्। किचनमा राष्ट्रिय मापदण्ड अनुसार विद्यालय सञ्चालनका ६ दिन ६ प्रकारका खाजा बनाउने र वितरण गर्नुपर्नेछ। किचन व्यवस्थापनले स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर खाजा वितरणको काम गर्न सक्ने बताइएको छ।

सञ्चालनमा आएको किचनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१८ का अध्यक्ष अनिलकुमार बानियाँ, शिक्षा महाशाखाका प्रमुख कोइरालाले अनुगमन तथा निरीक्षण गरेका छन्। किचन सञ्चालनका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। अनुगमनपछि नगर प्रमुख लामाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखेर खाजाको व्यवस्थापन गर्न सुझाव दिइन्।

प्रतिक्रिया