हेटौंडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ।
इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देव कृष्ण पुडासैनीको प्रस्तावमा बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी लगायत गाउँपालिकाकी उपाध्यक्ष उमा लामा तथा गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरूको उपस्थितिमा आज ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको हो।
गाउँपालिकाका पाँचवटै वडासहितका टोल तथा बस्तीहरूमा गरिएको सर्वेक्षण अनुसार ४ वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयमा भर्ना भएको तथ्यांक गाउँपालिका शिक्षा शाखाले सार्वजनिक गरेको छ।
शिक्षा शाखाका अनुसार सबै वडामा ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा’ घोषणा भइसकेको छ। गाउँपालिकाले आज, अर्थात् असार ५ गतेदेखि लागू हुने गरी इन्द्रसरोवर गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा गरिएको गाउँपालिका अध्यक्ष देवकिशन पुडासैनीले स्पष्ट पारे।
त्यसैगरी, घोषणा कार्यक्रमकी प्रमुख अतिथि तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले घोषणा गरेर मात्र पूर्ण नहुने भएकाले भविष्यमा पनि यसको निरन्तरता दिन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीनवटै तहले संविधानको व्यवस्था अनुसार अनिवार्य तथा निःशुल्क शिक्षा उपलब्ध गराउन लाग्नुपर्ने धारणा राखिन्।
गाउँपालिका अध्यक्ष देवकिशन पुडासैनीले विद्यालय जाने उमेर समूहका सबै बालबालिका विद्यालयमा गएकाले आफ्नो पालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह’ घोषणा गरिएको स्पष्ट गरे।
कार्यक्रममा गाउँपालिकाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, संघ–संस्थाका प्रतिनिधिहरू, गाउँपालिकाभित्रका सबै विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा उत्कृष्ट शिक्षकलाई सम्मानसमेत गरिएको थियो।



