मकवानपुरको थाहाबाट ८० किलो लागू औषधसहित दुई जना पक्राउ

पालिका डायरी
१९ जेष्ठ २०८२, १३:१६
मकवानपुरको थाहाबाट ८० किलो लागू औषधसहित दुई जना पक्राउ

हेटौंडा /  मकवानपुरको थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथ सडक खण्डबाट लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गाडी चालक गोरखाकाे पालुङटार नगरपालिका–१० मिरकोटका २८ वर्षीय मधुसूदन अधिकारी र सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङका २५ वर्षीय नवराज खड्का रहेका छन् । दुबैजना हाल काठमाण्डौमा डेरा गरी बस्दै आएका थिए।

आइतबार (हिजो)  बिहान करिब १:३० बजेको समयमा लागू औषध ओसार–पसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा डाँडाबासबाट काठमाण्डौ जाँदै गरेको बा.५.च. ४४११ नम्बरको टाटा सुमो गाडीलाई रोकि चेकजाँच गरेको थियो।

प्रहरीले उक्त गाडी र त्यसमा सवार व्यक्तिहरूको शरीर तथा सवारीसाधनको खानतलासी गर्दा सुमो गाडीको भित्रि भागमा लुकाइ छिपाइ राखिएको अवस्थामा करिब ८० किलो १२० ग्राम गाँजा फेला पारेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बरामद लागू औषधसहित टाटा सुमो गाडी नियन्त्रणमा लिई उनीहरूलाई लागुऔषध कसुर अन्तर्गत आवश्यक कारबाहीको लागि मकवानपुर जिल्ला अदालत, हेटौडाबाट १० दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया