इन्द्रसरोवरमा भिरबाट लडेर एक महिलाको मृत्यु
हेटौंडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, दालशिङ पाखामा एक महिला भिरबाट लडेर मृत अवस्थामा फेला परेकी छन्।
मंगलबार (हिजो) साँझ ८ बजे ६० वर्षीया रविमाया भोम्जम सामान किन्न भन्दै घरबाट निस्किएकोमा बुधबार (आज) बिहान मृत फेला परेकी हुन् । पसल गएकी उनी सोही राति घर नफर्किएपछि स्थानीयले खोजी गर्ने क्रममा आज बिहान करिब १० बजे दालसं दालशिङ पाखास्थित भिरखर्कको बाटोबाट करिब ३ सय मिटर तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाको खबर प्राप्त हुने बित्तिकै अस्थायी प्रहरी पोस्ट मार्खुबाट प्रहरी टोली खटिएको थियो। घटनाको थप अनुसन्धान तथा मुचुल्का उठाउन इलाका प्रहरी कार्यालय भिमफेदीका प्रमुख सन्तकुमार श्रेष्ठको टोली र पालुङ प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको जनाएको छ। हाल मृतकको शव निकाल्ने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।



