भीमफेदीमा भिरबाट लडेर पुरुषको मृत्यु
हेटौंडा / मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका-१, नयाँगाउँमा एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ। मकवानपुर प्रहरी दिएको जानकारी अनुसार, ४९ वर्षीय अकिल बहादुर पाख्रिनको मृत्युलभएको हाे ।
प्राप्त जानकारी अनुसार, मृतक पाख्रिन मिति २०८१ चैत २० गते राति करिब ११ बजे आफ्नी श्रीमती बीपी माया पाख्रिन र दाजु नाता पर्ने रत्न कुमार पाख्रिनसँगै बोकेदह सामुदायिक बनमा दिउसै देखी लागेको डडेलो वनबाट नजिक रहेको गोठमा आयो कि भनी बोकेदह सामुदायिक बनमा लागेको डडेलो हेर्न गएका थिए । घरदेखि करिब ६० मिटर टाढा रहेको बारीको पाटाको भिरबाट उनी करिब २०० मिटर तल खसेका थिए।
स्थानीयले राति नै खोजतलास गरे पनि उनलाई फेला पार्न सकेनन्। आज बिहान करिब ६ बजे मात्र उनको शव भिरमा भोर्लाको लहरामा अडकिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा आगलागीको कारण उनको शरीर जलेको अवस्थामा भेटिएको थियो।
प्रहरीले घटनास्थलको मुचुल्का उठाई प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


