भीमफेदी गाउँपालिकाको न्यायिक समितिद्वारा कानुनी सचेतना अभियान सञ्चालन

पालिका डायरी
१८ फाल्गुन २०८१, १९:३२

हेटौंडा / भीमफेदी गाउँपालिकाको नौ वटै वडामा कानुनी सचेतना कार्यक्रम आजदेखि सुरु गरिएको छ।

भीमफेदी गाउँपालिकाको न्यायिक समितिको आयोजनामा पालिकाका नौ वटै वडामा, एक वटा वडाको दुई ठाँउमा पुगेर कानुनी सचेतना तथा न्यायिक सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने भीमफेदी गाउँपालिकाकी न्यायिक सहजकर्ता कल्पना दुलालले जानकारी दिइन्।

भीमफेदी गाउँपालिकाको न्यायिक समितिको आयोजनामा आज भीमफेदी–४, चिउरी बगैंचाको वडा कार्यालयको सभाहलमा कानुनी सचेतना तथा न्यायिक सम्बन्धी पहिलो अन्तरक्रिया कार्यक्रम गरिएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सञ्जीव श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार अधिवक्ता रामसरण लामिछानेले बाल अधिकार, घरेलु हिंसा, बालविवाह, बहुविवाह, सिमाना विवादलगायत विषयमा कानुनी जानकारी प्रदान गरेका थिए। साथै, मिलापत्र गर्न सकिने क्षेत्र र कानुनले तोकेको दण्ड–जरिवानाबारे सहजीकरण गरिएको उनले बताए।

अन्तरक्रिया कार्यक्रममा न्यायिक समिति सदस्य रीता आले, भीमफेदी–४ का वडा अध्यक्ष सागर पाण्डे, वडाका सूचीकृत मेलमिलापकर्ता, भीमफेदी–४ का विभिन्न संघसंस्था, स्थानीय प्रतिनिधि तथा स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया