अनलाईनमा बालबालिकाको संरक्षण बिषयक अन्तरक्रिया सम्पन्न

पालिका डायरी
३० माघ २०८१, २०:२६

हेटौंडा / अनलाईनमा बालबालिकाको संरक्षण बिषयमा सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुधबार (आज)  सिविन नेपालद्धारा आयोजित कार्यक्रममा इन्टरनेटको प्रयोगमा बालबालिकाको सुरक्षा बिषयमा सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरिएको हो। कार्यक्रममा सहभागीहरुले ईनरनेटको बढ्दो प्रयोगसंगै बालबालिकाहरुमा जोखिम बढेको बताएका छन् । कार्यक्रममा सहभागीहरुले सूचना प्रविधिको प्रयोगबाट बालबालिकाहरुलाई शैक्षिक क्रियाकलापसँग जोड्नुपर्ने आवश्यकता बढ्दै गइरहेकोले त्यसबाट बचाउन सचेतनामूलक कार्यक्रमलाई तीव्र र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

अनलाइनमा हुने जोखिमबाट बालबालिकाहरुलाइ जोगाउन बालबालिकाले अनलाइनमा गर्ने गतिविधिबारे जानकारी राख्नुपर्ने, सामाजिक सञ्जालको प्रयोग गर्दा हुनसक्ने सम्भावित अनुचित गतिविधिहरूको बारेमा जानकारी राख्नुपर्ने र नियमित निगरानी गर्नुपर्ने साथै बालबालिका एवम् अभिभावकहरुका लागि सुरक्षित ईन्टरनेट चलाउने विषयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।

यस्तै बालबालिकाहरूलाई इन्टरनेटको प्रयोग गर्दा त्यसबाट सिर्जना हुनसक्ने विभिन्न खतराबाट सुरक्षित राख्न जरुरी रहेको र उनीहरूलाई सुरक्षित तवरमा इन्टरनेट चलाउन सिकाउनुपर्ने बताएका छन् । अनलाइनबाट बालबालिकामा हुने यौन दुव्र्यवहारको घटना बढ्दै गएको हुँदा यसमा सबै पक्ष समयमै सचेत हुनुपर्ने उनिहरुले सुझाव दिएका छन् । अनलाईनमा बालबालिकाको संरक्षणकालागि सरकार, शिक्षा क्षेत्र, नियामक क्षेत्रसंगै यो क्षेत्रमा काम गर्ने अन्य संघसंस्थाहरू सबैको सहभागिता आवश्यक रहेको उनिहरुको भनाई थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुदै सिविन बालहेल्प लाईनका कार्यक्रम फोकल पर्सन माधव लोहनीले अनलाइन बाल यौन शोषणबाट प्रभावित बालबालिकाहरूको लागि पीडित हेरचाह र पुनर्वास सेवाहरूको गुणस्तरलाई सुदृढ पार्नुपर्ने साथै यसका चुनौती र जटिलतासंगै बालबालिकाको सुरक्षा र कल्याणसम्बन्धी सचेतना जगाउँदै सामूहिक प्रतिबद्धता बढाउनुपर्ने बताए।
लोहनीका अनुसार नेपाल प्रहरीको साईवर व्युरोमा दर्ता भएका घटनाका आधारमा पनि यस विषयमा समयमै सचेत हुन आवश्यक छ । व्युरोमा २०७५/७६ मा साईवर अपराध सम्बन्धी ३५७, २०७६/७७ मा २ हजार ३०१, २०७७/७८ मा ३ हजार ९०६, २०७८/७९ मा ४ हजार ६८६, २०७९/८० मा ९ हजार १३, २०८०/८१ मा १९ हजार ७३० र २०८१/८२ को हालसम्म ९ हजार ९३२ घटना दर्ता भएको बताए ।

कार्यक्रममा सिवीन बाल हेल्पलाईन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले बालविवाह, बालश्रम भन्दा पनि अनलाईन बाल शोषणको विषय बढी सम्वेदनशील र जटिल बन्दै गएकोले यस विषयमा सबै सचेत हुन जरुरी रहेको बताए । कार्यक्रमा मकवानपुरका विभिन्न स्थानीय तहका शिक्षा शाखाका प्रमुख एवम् प्रतिनिधि, विद्यालयका शिक्षक एवम् विद्यालय नर्सहरु, सामुदायिक प्रहरी, पत्रकार, ईनटरनेट प्रदायक संस्थाका प्रमुख एवम् प्रतिनिधिलगायत विभिन्न सरोकारवालासंघसंस्थाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया