वीरगन्जबाट अपहरण गरेर ५० हजार फिरौती लिएको आरोपमा २ जना पक्राउ
file photo
पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदन दिएपछि पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ५० हजार फिरौती रकम पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
अपहरित महमदसँग अपहरणकारीले फिरौतीबापतको रकम लिँदै गरेको अवस्थामा वीरगगन्ज महानगर–१६ स्थित इनर्वागाउँबाट सन्तोष दास तत्मा र हरिशंकर शर्मालाई पक्राउ गरिएको लम्सालको भनाई छ ।
‘गत शुक्रबार महमदको भारतमा अपहरण भएको थियो । महमदले अपहरणकर्तालाई खाली चेक र मोटरसाइकल दिएर फुत्किएको जानकारी प्रहरीलाई दिएका छन्,’ लम्सालले भने, अपहरणकारीले थप पैसा माग्न थालेपछि महमदले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए । सोही सूचनाका आधारमा प्रहरीले अपहरणमा संलग्न भनिएका आरोपितलाई पक्राउ गरेको हो ।’
अपहरणको अभियोगमा पक्राउ परेका तत्मा र शर्मा दुवै वीरगन्ज महानगर-१६ का स्थानीय बासिन्दा हुन् । पर्सा प्रहरीले अपहरणमा प्रयोग भएको मधेस प्रदेश ०३-०२५ प ३९८० नम्बरको पल्सर मोटरसाइकल र बिआर ०५ एयु ९७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब उपरीक्षक लम्सालले अपहरणको अभियोग लागेका दुवै जनालाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

