हिजो एकैदिन तोलामा १६ हजार घटेको सुनको मूल्यमा आज पनि उच्च गिरावट
सुनको मूल्यमा आज उच्च गिरावट आएको छ । सोमबार एकैदिन तोलामा १५ हजार नौसय रुपैयाँले घटेको सुनको मूल्य आज पनि दुई हजार ६ सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ४८ हजार सातसय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ५१ हजार तीनसय रुपैयाँ थियो । गएको आइतबार सुनको मूल्य एक लाख ६७ हजार दुईसय रुपैयाँ थियो । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि सुनको भाउ दुई दिनमै १८ हजार पाँचसय रुपैयाँ घटेको छ ।
चालु आर्थिक वर्षमा सुनको आयात घटेपछि चोरी पैठारीबाट सुन आउन थालेको अनुमान गरेर सरकारले भन्सारदर घटाएको हो । गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो । त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । तीन सातामै सुनको मूल्य २२ हजार तीनसय रुपैयाँ घटिसकेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ । हिजो एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठसय २० रुपैयाँमा झरेको छ ।

