वीरगन्जजबाट पोखरा जाँदै गरेको बस हेटौँडामा पल्टियो, १७ जना घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ स्थित चुरियामाई मन्दिरनजिक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई शुक्रबार (आज) बिहान १० बजेतिर सडक छेउको खोल्सामा पल्टिएको हो ।
दुर्घटनामा घाइतमध्ये बाराको पर्सैनी गाउँपालिकाकी ९ वर्षीया जोनीशा कुमारी ठाकुरको अवस्था गम्भीर छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य १६ जना घाइतेमध्ये १४ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूमा बारा, पर्सा, चितवन, कैलाली र स्याङ्जाका नेपाली नागरिकका साथै चार जना भारतीय छन् घाइतेहरूमा ३ वर्षदेखि ५२ वर्षसम्मका छन् ।
प्रहरी सहायक निरीक्षक नविन विक्रम थापाको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरी हेटौँडा अस्पतालमा पुर्याएको छ । सबै घाइतेको उपचार हेटौँडा अस्पतालमा भइरहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।
बसमा १८ जना यात्रु सवार रहेकामा चालकसहित १७ जना घाइते भएका हुन् । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

