नेकपा एमाले भीमफेदी कमिटीको सपथ ग्रहण सम्पन्न
नेकपा एमाले भीमफेदी गाउँपालिकाको नवनिर्वाचित कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। वाग्मती प्रदेश कमिटी सदस्य एवं अध्यक्ष मण्डलका अध्यक्ष भगवती पुडासैनीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि रानाले बधाई तथा शुभकामना मन्तव्य राख्दै मुलुकलाई गम्भीर दुर्घटनाबाट बचाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ गठबन्धन निर्माण भएको बताए। उनले मिसन ८४ को बारेमा प्रष्ट पार्दै लोकतन्त्र र कानुनी राज्यप्रतिको विश्वास र त्यसको मर्यादामा रहेर पार्टीलाई सशक्त बनाउन र जनताको विश्वास जित्न मिसन ८४ को परिकल्पना गरिएको बताए।
रानाले नेकपा एमालेसँग नेपाली समाजको आर्थिक, सामाजिक र वैचारिक शक्तिको परिवर्तन गर्न सक्ने दृढ संकल्प रहेको र यो अभियान भीमफेदीबाट सुरु गर्न नवनिर्वाचित कमिटीलाई निर्देशन दिए। उनले गरिखाने वर्ग र श्रमजीवी वर्गको पक्षमा उभिन नेता तथा कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य बलराम बल, जिल्ला कमिटी अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता विष्ट लगायत पिताम्बर बास्तोला र सानु थापाले शुभकामना मन्तव्य राखेका थिए।
असोज ५ गते सम्पन्न नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीको अधिवेशनबाट सीताराम थापाको अध्यक्षतामा ५३ सदस्यीय पालिका कमिटी गठन भएको थियो। उपाध्यक्षमा काशीराम बज्यु, सचिव शिव रुम्बा, सहसचिवमा आशिष अस्लामी र विष्णुमाया रुम्बा सर्वसम्मत निर्वाचित भएका थिए।


