हेटौंडाबाट लोथर जाँदा बसमा पाकेट मारी चोरी गर्ने समूह पक्राउ
हेटौंडा / मनहरीमा बस चढेका यात्रुको ५१ हजार रुपैयाँ चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका-६ का ४९ वर्षीय भरत गौतम हेटौंडाबाट लोथर जाँदै गर्दा ना ५ ख ८१०१ नम्बरको बसमा राति ११ बजेतिर उनको साथमा रहेको नगद पाकेट मारी चोरी भएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चोरीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-६ का ३२ वर्षीय लाक्पा तामाङ, उदयपुरको त्रियुगा नगरपालिका-१० का ४२ वर्षीय प्रेम दोर्जे शेर्पा र धनकुटाको छथर गाउँपालिका-३ का ३७ वर्षीय हेमराज श्रेष्ठ रहेका छन् । उनीहरूको साथबाट चोरी गरिएको रकम बरामद भएको प्रहरीले जनाएको छ
प्रतिक्रिया

