बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेष्टहाउस सञ्चालक पक्राउ
AI Photo
बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि फरार रहेका गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँको टोखा नगरपालिका २६ नयाँबसपार्कमा सञ्चालित निमा गेष्टहाउसमा सरसफाईको काममा लगाइदिने भन्दै बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोप छ ।
आरोपित गेष्टहाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका ६ का २९ वर्षीय सुजन तामाङलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले बिहीबार पक्राउ गरेको हो ।
बालिकालाई वेश्यावृत्तिमा लगाएर ग्राहकबाट दुई घण्टामा ३ हजारसम्म र रातभरमा ६ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको दाबी छ। पीडित बालिकालाई एक महिनासम्म गेष्टहाउसबाट बाहिर जान समेत नदिएको र जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य बनाएको उजुरी परेको ब्यूरोले जनाएको छ।
पीडित बालिकाले काम गरेबापतको पारिश्रमिक माग्दा समेत अभियुक्तले गालिगलौज तथा कुटपिट गरी यातना दिएको ब्यूरोका सूचना अधिकारी एसपी गौतम मिश्रले बताए ।
उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।

