बाढीपहिरोले अवरुद्ध विद्युत सेवा पुन सुचारु अध्यक्ष लामाको विशेष पहल
हेटौंडा / असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले मकवानपुरको भीमफेदी गाउँपालिका ८ मा विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो। अविरल वर्षाका कारण अवरुद्ध भएको भीमफेदी ८ इपा र बकैया १२ ठिंगनमा आजदेखि पुनः बत्ती बलेको छ।
पालुङ्ग वितरण केन्द्रबाट भीमफेदी ८ इपा र बकैया १२ ठिंगनमा बालिएको विद्युत अविरल वर्षाका कारण पोल, तार लगायतका सामानहरू पूर्ण रूपमा क्षति भएको र मर्मत गर्न धेरै समय लाग्ने भएपछि हेटौंडाको कमाने सबस्टेसनबाट बकैया ११ सम्म पुगेको लाइनलाई भीमफेदी गाउँपालिकाको पहलमा विद्युत प्राधिकरणसँग समन्वय गरेर नयाँ संरचना निर्माण गरी साविक इपाको सबै भाग र बकैया १२ ठिंगनमा आजदेखि बत्ती बाल्न सफल भएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए।
चाडपर्वको समयमा विद्युत सेवा नहुँदा भीमफेदी गाउँपालिका वडा नम्बर ८ को साविक इपा पञ्चकन्या र बकैया १२ ठिंगनका बासिन्दाहरू अहिलेसम्म विद्युत र सञ्चार विहीन भएर बस्न बाध्य थिए। आज भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको विशेष पहलमा नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरी बिजुली बत्ती बाल्न सफल भएको स्थानीयहरू बताउँछन्।
त्यस क्षेत्रमा बिजुली बत्तीसँगै टेलिफोन सेवा पनि अवरुद्ध भएकोले स्थानीयहरू अहिलेसम्म सम्पर्कविहीन बनिरहेका थिए। यसले गर्दा उक्त क्षेत्रका बासिन्दा र आफन्तजनहरू चिन्तित बनिरहेका थिए।
यस समस्यालाई समाधान गर्न भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा स्वयं फिल्डमा चार दिनसम्म खटिएर आजदेखि साविक इपाको सबै ठाउँ र बकैया १२ को सबै ठाउँमा बत्ती बलेको छ। बुधवारदेखि आजसम्म भीमफेदी ८ गङ्गटे र बकैया १२ ठिंगनका बीसौं जना स्थानीयको जनश्रमदान र विद्युत प्राधिकरण हेटौंडाको अथक मेहनतले आज बत्ती बाल्न सफल भएको अध्यक्ष लामाले बताए।
भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामाले १६ गते बुधवार विद्युत प्राधिकरणबाट बिजुलीको पोल, तार लगायत आवश्यक सामग्री लिएर आफै फिल्डमा पुगेर स्थानीय सबै युवा शक्तिहरूलाई जनश्रमदान गर्न आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत अपिल गरेका थिए। यसै सूचनालाई आधार मानेर स्थानीय बीसौं जना युवाको उपस्थितिमा जनश्रमदान गरी काम सम्पन्न पश्चात आज बत्ती बाल्न सफल भएको हो।
अध्यक्ष लामाले लगातारको मेहनत, नेपाल विद्युत प्राधिकरण र युवाहरूको सहयोगले २० दिनमा पनि नसकिने काम चार दिनमा सकिएको भन्दै सहयोगी सबैलाई धन्यवाद दिए।
वर्षाले भीमफेदी ८ इपा पञ्चकन्यामा अहिलेसम्म पनि सडक अवरुद्ध हुँदा यातायात सेवा सञ्चालन हुन सकेको छैन। अध्यक्ष लामाका अनुसार इपामा अब चाँडै यातायात पुर्याउन पनि आफू लागिरहेको र सकेसम्म दशैं अगाडिनै सडक सफा गरी यातायात सेवा पनि सञ्चालन गर्ने बताए।
अविरल वर्षाकै कारण भीमफेदी ८ इपामा रहेको २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना अन्तर्गत रहेको मान्डु हाइड्रोपावरको पावर हाउस पूर्ण रूपमा क्षति भएको छ।


