विश्व पशुपन्छी दिवस : आश्रममा संरक्षित गाईलाई दाना र औषधि वितरण
हेटौंडा / बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, हेटौंडाले चितवनमा विश्व पशुपन्छी दिवस मनाएको छ । शुक्रबार चितवनको विभिन्न आश्रममा रहेका गाई संरक्षण केन्द्रहरुमा दाना तथा औषधि हस्तान्तरण गरेर यो दिवस मनाइएको हो । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगत रहेको निर्देशनालयले भरतपुर महानगरपालिका–१ देवघाटमा रहेको योगी नरहरीनाथ गौ संरक्षण केन्द्र, देवघाटमै रहेको एन.आर.एन बृद्धाश्रम, देवघाट क्षेत्र विकास समितिबाट सञ्चालित गौ संरक्षण केन्द्र र भरतपुर–४ रामघाटमा रहेको श्री नारायणधाम आश्रममा पशु आहारा दाना र औषधि वितरण गरिएको हो ।
पशुपन्छी विकास निर्देशनालय हेटौंडाको आयोजनामा भएको कार्यक्रममा योगी नरहरीनाथ गौ संरक्षण केन्द्रलाई ५० किलोग्राम बराबरको १० बोरा दाना, गाईका लागि भिटामिन तथा औषधिहरु वितरण गरिएको छ । यस्तै, देवघाट क्षेत्र विकास समितिबाट सञ्चालित गौ संरक्षण केन्द्रलाई ४ बोरा दाना र औषधि, देवघाटमै रहेको एन.आर.एन बृद्धाश्रममा रहेको गाई फार्मका लागि ३ बोरा दाना र औषधि र रामघाटमा रहेको श्री नारायणधाम आश्रममा ३ बोरा दाना र औषधिहरु वितरण गरिएको हो ।

यस्तै, पशु सेवा कार्यालय चितवनले समेत सोही आश्रमहरुमा गाईका लागि विभिन्न प्रकारका औषधि र भिटामिन वितरण गरिएको पशु सेवा कार्यालय, चितवनमा पशु चिकित्सक डा. बब्लु ठाकुरले बताए । पशु आहारा सामाग्री हस्तान्तरण कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. विनोद कुमार भट्टराईले आश्रममा पालिएका गाईहरुबाट लोकल गाईका प्रोडक्टहरु तयार गर्न तथा गाईको गहँुत संकलन गरेर रिफान्ड गर्दै औषधिको रुपमा तयार गरिनु उत्कृष्ट कार्यको भएको बताए ।
यस्तै, पशुपन्छी दिवसका अवसरमा सेवामुलक ढंगले निस्वार्थ पशुपालन गर्दै आएका आश्रमका पशुहरुको सेवा गर्ने उदेश्यले यस्ता सामाग्रीहरु वितरण गरिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठले बताए ।

पशुपन्छीको बाँच्न पाउने अधिकारलाई यी आश्रमहरुले महत्व दिएर संरक्षण गरेको बताउँदै डा. श्रेष्ठले भने, ‘पछिल्लो समय पशुपन्छीहरु प्रायः नाफाका लागि मात्रै पालिन्छ । दुध उत्पादन हुञ्जेल दुध खाने, दुध निख्रिएपछि सडकमा छोड्ने प्रचलन बढेको छ । यस्ता छोडिएका गाईहरुलाई संरक्षण गरेर पाल्ने, स्याहार सुसार गर्ने आश्रमको प्रशंसा गरेर सकिदैँन । सोही कुराले प्रभावित भएको कारण पनि यो दिवस आश्रमकै गाईहरुसँग मनाउन आएका हौं ।’

कार्यक्रममा निर्देशनालयका निर्देशक डा. श्रेष्ठ, मन्त्रालयका सचिव डा. भट्टराई लगायत पशु सेवा कार्यालय चितवनका प्रमुख डा. शुशिल केसी, नरहरीनाथ गौं संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकाल, कृषि मन्त्रालयका पशु विकास अधिकृत डा. आभाष कोइराला लगायतको उपस्थिती रहेको थियो । हरेक बर्ष अक्टोबर महिनाको ४ तारिखमा विश्व भरि विश्व पशुपन्छी दिवस मनाइन्छ ।


