वर्षाका कारण सडक अवरुद्ध हुँदा इपाका बासिन्दा मारमा
हेटौंडा / भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपा पञ्चकन्याबाट हेटौंडा र काठमाडौं आवतजावत गर्ने सबै सडक अवरुद्ध छन् ।
असोज १० गते रातिदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण भीमफेदी ८ इपा पञ्चकन्यादेखि देउराली- सिस्नेरी- फर्पिङ हुँदै काठमाण्डौ जाने र देउराली-कोगटे- भीमफेदी हुँदै हेटौंडा जोड्ने सडक अझै अवरुद्ध छ । देउराली पाखा, पातलको वन, ठूलो डोलको विभिन्न भागमा सडकको माथि र तलबाट पहिरो खस्दा इपाबाट हेटौंडा र काठमाडौं जोड्ने दुवै सडक अवरुद्ध भएको छ । मौसममा सुधार आयता पनि उक्त बाटो संचालनमा भने कुनै सरोकारवालाले ध्यान नदिएको स्थानीयहरुको गुनासो रहेको छ ।
यस्तै, कान्तिराजपथको महादेवटार फाप्लाङ हुँदै इपा जाने बाटो र ललितपुरको चापागाउँबाट पनि कान्तिराजपथबाट माल्टा हुँदै आउने बाटो अवरुद्ध भएको छ। साथै, बागमती खोलाको पुल बगाउँदा इपा आउने यी सबै बाटाहरू बन्द हुँदा इपाका करिब ३०० घरपरिवार यातायात, विद्युत र सञ्चारबाट समेत विस्थापित भएका छन्।
अविरल वर्षापछि माथिबाट पहिरो आएर सडक अवरुद्ध हुँदा इपाका स्थानीयहरूलाई चाडपर्वको मुखमा नुनतेलको जोहो गर्नै धौ-धौ परेको छ। बाटोसँगै अहिले कुलेखानी-सिस्नेरी खण्डमा सबै बिजुलीको पोल खोलाले बगाएपछि विद्युत पनि अवरुद्ध भएको छ। विद्युत अवरुद्ध हुँदा टेलिफोन पनि अवरुद्ध भएको स्थानीयले बताएका छन्। यातायात, विद्युत र टेलिफोन समेत अवरुद्ध हुँदा यतिखेर उक्त ठाउँका बासिन्दा मारमा परेका छन्।
अविरल वर्षाकै कारण इपा बेसीमा रहेको बागमती साना जलविद्युत आयोजनाको २२ मेगावाटको माण्डु हाइड्रोपावरको पावरहाउस पनि पूर्ण रूपमा क्षति भएको छ।

