सिस्नेरीको पहिरोले लियो छोराको ज्यान, बाबुले लेखे– अनुपम, मैलै तिमीलाई बचाउन सकिनँ !
शनिबार बिहान कुलेखानी जलविद्युत् केन्द्रको जलाशायबाट छाडिएको पानीले आएको पहिरोमा परेर ज्यान गुमाउने ६ बालकमध्ये एक हुन्- अनुपम घलान ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२ का अनुपम ५ महिनाअघि मात्रै फुटबल सिक्न इन्द्रसरोवरको सिस्नेरीस्थित बत्सलादेवी माविमा गएका थिए । तर भर्खर १३ वर्षमा टेकेका उनी प्राकृतिक विपद्को सिकार बने ।
विद्यालयको होस्टलमा सँगै बसेका ५ साथीसँगै शनिबार पहिरोमा परेर अनुपम पनि संसारबाट बिदा भए । सानैदेखि फुटबल खेल्ने रुचि भएका अनुपमलाई खेलाडी बनाउने सपना बोकेका उनका बाबु लतिलकुमार घलानले जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामासँगको सहकार्यमा सिस्नेरीस्थित एन्फा एकेडेमीमा भर्ना गराइदिएका थिए ।
यसअघि हेटौँडा-४ मा रहेको श्री आधुनिक माध्यमिक विद्यालयमा पढ्ने अनुपमलाई गत वैशाखको अन्तिमतिर सिस्नेरी पठाइएको पारिवारिक स्रोत बताउँछ । अनुपम, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्षसमेत रहेका ललितका एक मात्र सन्तान थिए ।
मकवानपुरमै एन्फा एकेडेमी खुलेपछि छोरालाई राष्ट्रको गहना बनाउने लक्ष्य लिएका घलानको सपना पूरा हुनै पाएन । पहिरोमा हराएका छोराको शव शनिबार साँझ फेला परेपछि घलानले फेसबुकमा छोराको तस्बिर राख्दै लेखेका छन्, ‘छोरा अनुपम! मैलै तिमीलाई बचाउन सकिनँ ।’
छोराले शुक्रबार आत्तिँदै फोन गरेको घलान बताउँछन् । ‘शुक्रबार राति ९ बजेतिर कुरा भएको थियो’, उनले भने, ‘यता त डरै लाग्दो भैरहेको छ बाबा । गाडीमा स्पिकर राखेर माइकिङ गर्दै हिँडेको छ । वार्डेन सरहरूले भोलि अन्त जाउँला, केही हुँदैन भन्नुभएको छ । भोलिचाहिँ हामी यहाँबाट अन्तै जाने रे बाबा भन्थ्यो । बिहानै बाढीपहिरोमा परेछ ।’
अनुपमले अब दसैँ आउनै लागेको र घर आउने दिन पनि आउन लाग्यो है बाबा भनेको घलान सुनाउँछन् । ‘बाबुले १५ गते लिन आउनु है भनेको थियो’, उनले थपे, ‘१६ गते स्कुलमा दसैँ कार्यक्रम छ । हामी नबस्ने १५ गते नै लिन आउनू । अनि तिहारसम्म हेटौँडा नै बस्ने हो भनेको थियो ।’
अनुपमलगायत उक्त विद्यालयमा बस्ने सबै विद्यार्थीले घटनाको अघिल्लो दिन शुक्रबार नै घर जाने भनेका थिए । तर एकेडेमीका संरक्षकले बाँध खोल्ने सूचना हामीलाई आउँछ, अनि मात्रै जाउँला भनेर राखेको एकेडेमीका केही विद्यार्थीले बताएका छन् ।
मकवानपुरको इन्द्रसरोवर-१ स्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि शनिबार बिहानै बाँधका दुवै ढोका खोलिएका थिए । बाँध फुटेर झन् ठूलो जोखिम निम्तिने कुरालाई विचार गरी बाँधका ढोका खोलिएका थिए ।
त्यही बाँधबाट गएको पानीका कारण खसेको पहिरोले अनुपमसहित ६ जना भविष्यका खेलाडीलाई बगायो । इन्द्रसरोवर गाउँपालिका-३ स्थित श्री बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीमा प्रशिक्षणमा रहेका ६ बालकका शव दिनभरको खाजीपछि साँझपख मात्र भेटिएका थिए ।
मृत्यु हुनेमा मकवानपुरका अनुपमसहित तीनजना र बाँकी ३ बालक अन्य जिल्लाका थिए । अनुपमसँगै सिस्नेरीकै दिवस बानियाँ र साइमन योञ्जन सर्लाहीका आदित्य बलम्पाकी, काठमाडौँका रियान्स आचार्य र निजगढका विकल रेग्मीले कलिलो उमेरमै ज्यान गुमाएका हुन् ।



