सिस्नेरीमा बेपत्ता ६ मध्ये चारको शव फेला ३४ जनालाई हेलिकोप्टरबाट काठमाडौं लगिँदै

पालिका डायरी
१२ आश्विन २०८१, १७:४४
palika diary

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा पहिरोमा पुरिएका ६ मध्ये चारजना मृत फेला परेका छन्। सुरक्षित रहेका ३४ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजान थालिएको छ।

शनिबार बिहान सिस्नेरी खोलामा बाढी आएपछि सुरक्षितस्थानतर्फ जाने क्रममा माथिबाट आएको पहिरोमा पुरिएर ६ विद्यार्थी बेपत्ता भएका थिए। एकेडेमीमा ४० विद्यार्थी अध्ययनका साथै फुटबल प्रशिक्षण गर्दै आएका थिए।

एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले पहिरोमा पुरिएको अवस्थामा चार विद्यार्थीको शव भेटिएको र निकाल्ने काम भइरहेको जानकारी दिए। उनले पहिचान खुल्न बाँकी रहेको पनि बताए।

सुरक्षित रहेका अन्य ३४ विद्यार्थीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लैजान थालिएको संयोजक ठकुरीले जानकारी दिए। ठकुरीका अनुसार बेपत्ता विद्यार्थीहरूमा मकवानपुरका अनुप घलान, दिवश बानियाँ र सुमन योञ्जन, काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी छन्।

एन्फाले गत वर्ष श्री बत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गर्दै सिस्नेरीमा ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। त्यहाँ नियमित अध्ययनका साथै नियमित फुटबल प्रशिक्षणसमेत दिने गरिएको थियो।

प्रतिक्रिया