सिन्धुपाल्चोक र पाँचथरमा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु

पालिका डायरी
१२ आश्विन २०८१, १०:४८
भीमफेदीमा पहिरोले दुइ घर बगायो, त्रिभुवनराजपथ अबरुद्ध

सिन्धुपाल्चोक र पाँचथरमा पहिरोले घर बगाउँदा चारजनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। लिसङ्खु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाका अनुसार गएराति आएको पहिरोले पुरिएर वडा नम्बर३ का पूर्वअध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमतीको मृत्यु भएको हो ।

घरमा सुतिरहेकाको समयमा राति १ बजेतिर आएको पहिरोले पुरिँदा दुवै जनाको मृत्यु भएको अध्यक्ष लामाले जानकारी दिए। स्थानीयले रातिदेखि नै उद्धार सुरु गरेका थिए । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ। सुनकोसी नदीले खतराको तह पार गरेको छ। अरनिको राजमार्गलगायत अन्य सहायक मार्गमा पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।

इन्द्रावती नदीमा आएको बाढी इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा पस्दा आयोजना बन्द भएको आयोजनाका कर्मचारी विनोद कार्कीले जानकारी दिए ।  मेलम्ची खोलामा आएको बाढीले मेलम्ची–७ र हेलम्बु गाउँपालिका–४ जोड्ने तालामाराङ डाँडापसलको झोलुङ्गे पुल उच्च जोखिममा रहेको स्थानीय तारा गिरीले जानकारी दिए ।

यसैबीच पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो ।

उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् । पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ । पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया