रेबिज सम्बन्धि विभिन्न जनचेतनामुलक कार्यक्रम सम्पन्न
हेटौंडा / पशु सेवा कार्यालय मकवानपुरले विश्व रेबिज दिवसका अवसरमा विभिन्न जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेको छ । शुक्रबार (आज) पशु सेवा कार्यालय मकवानपुरको आयोजनामा रेबिज सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नगरप्रहरीहरुको उपस्थितीमा रेबिज सम्बन्धि जनचेतना कार्यक्रम गरिएको हो । समुदायमा रेबिज फैल्याउने जनावरहरुको बिषयमा राष्ट्रसेवक प्रहरीहरुलाई जनचेतना अभिवृद्धि गराइएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए । ठाकुरका अनुसार आजै पशु सेवा कार्यालयले सुपारिटार व्यारेकमा पुगेर त्यहाँ कार्यरत नेपाल आर्मीलाई समेत रेबिजका बिषयमा जानकारी गराइएको थियो । समाजमा रेबिज फैलनबाट रोक्नका लागि जनस्तरमै सचेतना फैलाउन आवश्यक रहेको भन्दै पशु सेवा कार्यालयले जनचेतना कार्यक्रम गरेको बताइएको छ ।

त्यसोत, पशु सेवा कार्यालय मकवानपुरले बुधबारबाटै विभिन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको कार्यालय प्रमुख डा. ठाकुरले बताए । बुधबार हेटौंडा–१ लालझाडीमा रहेको श्री बाराही आधारभूत विद्यालयमा रेबिज सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम गराइएको थियो भने बिहीबार हेटौंडा–१४ नयाँबस्तीमा रहेको दिव्यज्योती निम्न माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई रेबिज सम्बन्धि जानकारी गराइएको थियो । प्रायः बालबालिकाहरु रेबिजको जोखिममा रहेका कारण विद्यालयस्तरमा समेत यस्ता कार्यक्रमहरु आयोजना गरिएको डा. ठाकुरले बताए ।
हरेक बर्षको सेप्टेम्बर २८ तारिखमा मनाइने विश्व रेबिज दिवसको अवसरमा शनिबार हेटौंडा–१० बसपार्कमा सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको ठाकुरले बताए । पशु सेवा कार्यालयले मकवानपुरको १० वटा स्थानीय तहहरुलाई रेबिजको १२ सय डोज खोप वितरण गरेको कार्यालयले जनाएको छ । यसका साथै पशु सेवा कार्यालयमा निशूल्क खोप लगाइरहेको समेत कार्यालय प्रमुख डा. ठाकुरले जानकारी दिए ।

