पत्नी हत्याको आरोपमा पक्राउ परेका पाख्रिनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश
हेटौंडा / मकवानपुरमा बन्चरो प्रहार गरेर पत्नीको हत्या गरेको आरोपमा पक्राउ परेका युवालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
जिल्ला न्यायाधीश गीता श्रेष्ठको इजलाशले कैलाश गाउँपालिका-५ कालीखोलास्थित काफलडाडाँकी २२ वर्षीया लक्ष्मी पाख्रिनको हत्या गरेको आरोपमा २६ वर्षीय पति मंगलबहादुर पाख्रिनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
मंगलबहादुरले गत साउन ३० गते घरभित्रै पत्नीलाई बन्चरो प्रहार गरी हत्या गरेपश्चात कालीखोला सामुदायिक वनको जंगलमा गाडेका थिए। प्रहरीका अनुसार उनले आफू अपराधबाट बच्नका लागि पत्नीको शवलाई २ वटा बोरामा प्याक गरेर घरनजिकै जंगलमा खाल्टो खनेर गाडेको पाइएको थियो।
पत्नीको कपडाहरु पनि शव गाडेको स्थान भन्दा केही पर बोरामा हालेर खाल्टोमा पुरेका थिए। हत्या गर्न प्रयोग गरिएको बन्चरोको बीड फुकालेर जंगलमै खाल्टो खनेर लुकाएका थिए। उनले पत्नीको हत्या गरेको कुरा छिमेकीले थाहा पाएपछि इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरिदिएका थिए। छिमेकी र गाउँलेको सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

