मिस्टर नेपालको सेकेण्ड रनरअप बोम्जनलाई बधाई तथा शुभकामना प्रदान

पालिका डायरी
२४ भाद्र २०८१, ११:२५

हेटौंडा /  मिस्टर नेपालको सेकेण्ड रनरअप आयुष बोम्जनलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ । सोमबार (आज)  टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा–१५ को आयोजना भएको कार्यक्रममा बोम्जनलाई बधाई तथा शुभकामना प्रदान गरिएको हो ।

बोम्जन मिस्टर नेपाल २०२४ प्रतियोगितामा सहभागी भएका थिए । हेटौंडा १५ नम्बर वडाका उनी मिस्टर नेपाल २०२४ को प्रतिस्पर्धामा उत्रिएर सकेण्ड रनरअप भएका हुन् । यस्तै उनले पपुलर अवार्ड समेत प्राप्त गरेका छन् । प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपालका अनुसार १८ देखि ३२ वर्ष उमेर समूहका युवाहरू यस प्रतियोगितामा सहभागी भएका थिए ।

टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा–१५ का अध्यक्ष सिंहबहादुर विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१५ नम्बर वडाका वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि मोक्तानले बोम्जनको यो उचाईले हेटौंडा–१५ नम्बर वडालाई मात्रै नभई मकवानपुरलाई नै चिनाउन सफल भएको बताए ।

देशको ठुलो ओहोदामा पुग्ने सबै गाउँमै पढेका र हुर्किएका व्यक्तिहरु रहेको बताउँदै अध्यक्ष मोक्तानले भने, ‘देशको वर्तमान प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मुख्य सचिव देखि सबै व्यक्तिहरु गाउँबाटै आएका हुन् । यसरी आयुष पनि गाउँबाटै मिस्टर नेपालको प्रतिस्पर्धामा होमिएका मान्छे हुन्। इच्छा त हामीलाई जसरी पनि मिस्टर नेपालकै उपाधि जिताउने थियो।’ उनले थपे, ‘तर पनि केही छैन । पहिलो प्रयासमा सेकेण्ड रनरअप हुनु हाम्रो लागि गर्वको बिषय हो । आगामी दिनहरुमा पनि आयुषको प्रगतिका लागि वडाले अपनत्व लिन्छ ।  हेटौंडाबासीले सहयोग गर्नेछौं ।’

कार्यक्रममा १५ नम्बर वडाका वडा सदस्य सिंह बहादुर लो, लुनु विश्वकर्मा, चुरियामाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर बोम्जन लगाएत सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया