भीमफेदी दुर्घटना अपडेट: खोल्सीमा खसेको मोटरसाइकल चालकको मृत्यु
सोमबार (हिजो) भिमफेदी – कुलेखानी सडकखण्ड अन्तर्गत भीमफेदी ६ जुरिखेत ११ घुम्तीमा मोटरसाइकल भिरबाट तल खस्दा गम्भीर घाइते मोटरसाइकल चालकको मृत्यु भएको छ।
मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार काठमाडौंबाट हेटौंडा आउदै गरेको प्रदेश २ – ०३-०११ प ३४७४ नम्बरको मोटरसाइकल भिरबाट तल खसेको थियो। उक्त दुर्घटनामा मोटरसाइकल चालक विरगंज १५ लक्ष्मुनुवा घर भएका अन्दाजी ४० वर्षीय वृत नारायण यादव र मोटरसाइकलमा सवार बारा फेटा ७ का अन्दाजी ३६ वर्षीय रमेश पाण्डे घाइते भएका थिए। गम्भीर घाइते यादवको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जनाइएको छ ।
घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय भिमफेदीको टोली घटनास्थल पुगेर ७ सय मिटर तल खसेको मोटरसाइकलबाट यादवलाई उद्धार गरी उपचारार्थ पठाएको थियो भने पाण्डे रुखमा अडकिएका थिए। पाण्डेको हेटौंडामा उपचार भइरहेको छ।

